close

तिलोत्तमामा सुरु भाे ई-लर्निङ एन्ड साइन्स थिएटर 

तिलोत्तमामा सुरु भाे ई-लर्निङ एन्ड साइन्स थिएटर 

Trulli
ADVERTISEMENT

रूपन्देही- तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित वनवाटिकामा ई-लर्निङ एन्ड साइन्स थिएटर स्थापना भएको छ । रोटरी क्लब अफ बुटवलले तिलोत्तमा र शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा निर्माण गरेको थिएटरको नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गरे । विशेषगरी विद्यार्थीका लागि बढी उपयोगी मानिएको ई-लर्निङ एन्ड साइन्स थिएटरले नयाँ प्रविधिप्रति युवा आकर्षण थप बढाउनेछ ।

 

करिब १६ फुटको लम्बाइ र झन्डै ९ फुट चौडाइको स्क्रिनिङ रहेको प्रोजेक्टमा ठूला-ठूला सेमिनार, गोष्ठी, तालिम सञ्चालन गर्न, विभिन्न खेलकुद प्रतियोगिता अवलोकन गर्न र समग्र पृथ्वीबारे प्रविधिको माध्यमबाट अध्ययन अवलोकन गर्न उपयोगी हुनेछ । 
क्लबले यो प्रविधि चीनबाट भित्र्याएको हो । डिजिटल सिकाइको नयाँ प्लार्ट फर्मको विकास भएको क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए ।

 

करिब ४५ लाख रुपैयाँको लागतमा यो प्रोजेक्ट स्थापना गरिएको उनको भनाइ छ । आफ्नो कार्यकालमा ४ वटा महत्त्वपूर्ण प्रोजेक्ट अगाडि सारेकामा लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्ने भनिएको क्यान्सर स्क्रिनिङ सेन्टर र ब्लड कलेक्सन मोबाइल भ्यान छिट्टै सञ्चालनमा आउने पनि उनले जानकारी दिए ।


थिएटर उदघाटन गर्दै नगरप्रमुख घिमिरेले यसले युवा पुस्तालाई नयाँ प्रविधिको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । यसको सञ्चालनका लागि आगामी दिनमा नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ छ । क्लबका एजी राजेन्द्र लम्सालले यसको स्थापनाले वनवाटिका प्रविधिमैत्री केन्द्र बनेको बताए ।


क्लबका पूर्वअध्यक्ष राजेन्द्र ध्वजुले ई-लर्निङ एन्ड साइन्स थिएटर स्थापनाले प्रतिकूल अवस्थामा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सघाउ पुर्‍याउने धारणा व्यक्त गरे ।