close

विराटनगर महानगरको नयाँ पाठ्यक्रम 

विराटनगर महानगरको नयाँ पाठ्यक्रम 

Trulli
ADVERTISEMENT

विराटनगर- मोरङको विराटनगर महानगरपालिकाले नगर क्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायत विषयमा विज्ञ बनाउन आधारभूत तहका लागि नयाँ पाठ्यक्रम विकास गरेको छ ।


कक्षा १ देखि कक्षा ५ सम्म लागू हुने स्थानीय पाठ्क्रमको शुक्रबार विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरे ।

 

नगरभित्रका विद्यार्थीमा स्थानीय तहका भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयको ज्ञानको कमी थियो । यस्ता विषयलाई समेटेर विद्यालयमा पठनपाठन नहुँदा आफू जन्मे–हुर्केको ठाउँ भए पनि स्थानीयबारे जानकार बन्न सकेका थिएनन् ।  मेयर पराजुलीले विराटनगरका विभिन्न विद्यालय अनुगमन गर्दा विद्यार्थीमा स्थानीयताबारे ज्ञानको कमी भएको पाइएको सुनाए ।


‘स्थानीयताबारे ज्ञानको कमीका कारण विद्यार्थीमा रचनात्मकताको विकास नहुने हुँदा सानै उमेरदेखि विद्यार्थीलाई स्थानीय भूगोलदेखि भेषभूषासम्मका विषयमा ज्ञान दिनुपर्दछ भन्ने अभिप्रायले पाठ्यक्रम निर्माण गरिएको हो’, मेयर पराजुलीले भने । 


राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७५ मा भएको प्रावधानअनुसार स्थानीय निकायले विद्यालय तहको पाठ्यक्रममा १ सय पूर्णांकको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्थाअनुसार विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले ‘हाम्रो विराटनगर’ स्थानीय पाठ्यक्रम कक्षा १ देखि ५ निर्माण गरेको हो ।


यो पाठ्यक्रम विराटनगर क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागू गरिएको छ । यही पाठ्यक्रममा आधारित रहेर नेपाली र स्थानीय भाषामा स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशित हुनेछ ।  प्राध्यापक डा. अनिल पोखरेलको संयोजनमा स्थानीय पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रम निर्माण गरेको हो ।


विमोचन कार्यक्रममा नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले पाठ्यक्रमले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्थानीय तहका भूगोल, इतिहास, परम्परा र संस्कृतिबारे जानकार बनाउने बताए । 

 

संस्थागत विद्यालयका तर्फबाट राजन छराहाङ, शिक्षक महासंघका सचिव डेकबहादुर बास्तोला, नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइराला, विराटनगर वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, पाठ्यक्रम निर्माण समितिका संयोजक अनिल पोखरेललगायतले पाठ्यक्रम विकासले विद्यार्थी स्थानीयताबारे विज्ञ हुने र भविष्यमा यस्ता जानकारी जीवन निर्माणमा सहायक बन्ने विश्वास व्यक्त गरे । 


पाठ्यक्रममा आउने सुझावलाई आधार मान्दै कक्षा ६ देखि ८ सम्मको परिस्कृत पाठ्यक्रम चाँडै नै निर्माण गरिने मेयर पराजुलीले जानकारी दिए । आफ्नो भूगोलमा के–कस्तो अवस्था छ भन्ने विषय पाठ्यक्रममा उल्लेख गरिएकाले हजारौँ विद्यार्थीका साथै अभिभावक पनि लाभान्वित हुने अपेक्षा महानगरको छ ।