close

मुगुमा अझै पुगेन पाठ्यपुस्तक 

मुगुमा अझै पुगेन पाठ्यपुस्तक 

Trulli
ADVERTISEMENT

मुगु- शैक्षिक सत्र सुरु भएको २ महिना बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।  जिल्लामा रहेका सामुदायिक तथा निजी गरी १ सय ४० विद्यालयमा अध्ययनरत १३ हजार २ सय बढी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक नपुगेको हो । 


समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइमा समेत अप्थेरो पर्ने अवस्था छ । कोरोनाको महामारीले निषेधज्ञा थपिँदा विद्यालय खुल्न पाएका छैनन् भने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध हुन सकेको छैन ।

 

पाठ्यपुस्तक समयमा नपाउँदा बालबालिकाले पढाइ बिर्सन्छन् कि भन्ने चिन्ता थपिएको छायानाथ रारा नगरपालिका वडा नम्बर ३ फुलिगाउँका लिपबहादुर खड्काले बताए । छायानाथभित्र अध्ययनरत १ देखि १० कक्षा सम्मका बालबालिकालाई पाठ्यपुस्तक खरिदका लागि ३१ लाख ४४ हजार रुपैयाँ सम्बन्धित विद्यालयको खातामा पठाइसकिएको छ ।


पाठ्यपुस्तक खरिद जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारका प्रोप्राइटर लक्ष्मी भामलाई समयमा पाठ्यपुस्तक ढुवानीको लागि नगरपालिकाले लिखित पत्र पठाएको र मौखिक रूपमा ताकेता गरिएको छ र अबको केही समय पाठ्यपुस्तक पुग्ने र नगरपालिकाभित्रका सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने छायानाथ रारा नगरपालिकाका शिक्षा शाखा प्रमुख खड्कबहादुर रोकायाले जानकारी दिए । 


मुगुम कामारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाभित्र रहेका ६३ सामुदायिक विद्यालयका पाठ्यपुस्तक ढुवानी जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारका प्रोप्राइटर भामका अनुसार जनक शिक्षालाई रकम दिएर कर्णाली प्रदेश कार्यालयमा पुस्तक खरिदका लागि रुपैयाँ जम्मा गरिसकेको पुस्तक सुर्खेतमा तयारी अवस्थामा छन् । 


भामले भने, ‘कर्णाली राजमार्गका विभिन्न खण्डमा बाटो भत्केको हुँदा ढुवानी गर्ने समस्याले रोकिएको र अबको एक सातामा जिल्लामा पाठ्यपुस्तक आइपुग्नेछ ।’      


खत्याड गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको आव २०७८/७९ का लागि पाठ्यपुस्तक ढुवानी जिम्मा पाएको एवन एन्ड कलेक्सन रारा सप्लायर्सका प्रोप्राइटर शान्ति रोकायाका अनुसार पुस्तक सुर्खेतबाट ल्याउँदा बीच बाटोमा सडक अवरोधका कारण रोकिएका हुन् । 


‘अबको ३/४ दिनमा जिल्ला भित्र्याएर खत्याड पालिकाभित्र अध्ययनरत ६ हजार १ सय बढी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेछ’, रोकायाले भने ।