close

रिक्त शिक्षक दरबन्दीको विवरण पठाउन शिक्षा विकासलाइ परिपत्र

रिक्त शिक्षक दरबन्दीको विवरण पठाउन शिक्षा विकासलाइ परिपत्र

Trulli
ADVERTISEMENT

काठमाडाैं- शिक्षकहरुको स्थायी पदपूर्तिको विज्ञापन प्रयोजनका लागि भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दीको विवरण पठाउन देशभरका शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गरेको छ । 

 

चालू शैक्षिक सत्रको चैत मसान्त (२०७८ साल चैत मसान्त) सम्म रिक्त हुने (पछि फरक नपर्ने गरी र पुरानो माग भइ आएको विवरणमा नघट्ने गरी) दरबन्दी विवरण १० भदौभित्र मानव स्रोत विकास केन्द्रमा पठाउन परिपत्र गरिएको छ । 

 
परिपत्र अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्मको स्थायी दरबन्दी विवरण (प्रावि,निमावी र मावि) शिक्षक सेवा आयोगमार्फत विज्ञापन प्रयोजनका लागि माग भएको भन्दै केन्द्रले सो विवरण अद्यावधिक गरी चैत मसान्त २०७८ सम्ममा रिक्त हुने दरबन्दीको विवरण पठाउन भनेको छ । 


यस्तै शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय तहहरुको तहगत रुपमा रिक्त विवरण यकिन गरी राख्न र पछि सोहि रिक्त दरबन्दीमा स्थायी पदपूर्ति हुने व्यहोरासमेत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्रमार्फत अवगत गराएको छ ।

 

परिपत्र अनुसार दरबन्दी कट्टा हुने जिल्लाहरु क्रमशः तेह्रथुम, काठमाण्डौ, भक्तपुर, ललितपुर, पाल्पा, मनाङ, मुस्ताङ, लमजुङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, अर्घाखाँची र डोल्पा जिल्लाको हकमा स्थानीय तहगत खुल पुल दरबन्दी रहेको तह एकिन गर्ने र सो तहमा खुल पुल दरबन्दी रहेसम्मको रिक्त स्थायी दरबन्दी विज्ञापनका लागि माग नगर्ने र बाँकी रिक्त दरबन्दीको हकमा मात्र विज्ञापनको लागि माग गर्न भनिएको छ । 

 

यस्तै रिक्त स्थायी दरबन्दी थप भएका जिल्लाहरु क्रमशः उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ, नवलपरासी पूर्व, वाग्लुङ र जाजरकोट जिल्लाको हकमा विवरण पठाउँदाको मितिसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट दरबन्दी थप भएका र जिल्लाभित्रमा मौजुदा स्थायी दरबन्दी रिक्त भएको भए सो समेत चैत मसान्त २०७८ सम्मको रिक्त दरबन्दीको विवरण पठाउनुपर्ने हुन्छ । 

 

परिपत्र अनुसार अन्य जिल्लाहरुको हकमा चैत मसान्त २०७८ सम्मको रिक्त स्थायी दरबन्दी (यसअघि केन्द्रमा विज्ञापनका लागि पठाइएको बिबरण समेत गणना गरी) तहगत तथा बिषयगत रुपमा विवरण खुलाइ तोकिएको मितिभित्र पुग्ने गरी पठाउनुपर्ने हुन्छ । तोकिएको मितिभित्र विवरण प्राप्त नभए वा विवरण फरक परेमा सोको जिम्मेवारी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईले लिनुपर्ने भन्दै परिपत्रमा जिल्लाका सबै स्थानीय तहसँंग विवरण माग गरी रिक्त रहेका सबै विवरण पदपूर्तिका लागि पठाउन भनिएको छ । 

 

विवरण प्राप्त नभए राष्ट्रिय किताव खाना (शिक्षक)बाट रिक्त दरबन्दीको विवरण माग गरी विज्ञापन गर्नेसमेत केन्द्रले स्पष्ट पारेको छ ।