close

विद्यालयमा ललितकला अध्ययन गराउने तयारीका बुटवल उपमहानगर

विद्यालयमा ललितकला अध्ययन गराउने तयारीका बुटवल उपमहानगर

Trulli
ADVERTISEMENT

रुपन्देही- बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमका अतिरिक्त विद्यालय तहदेखि नै ललितकला अध्यापन गराउने तयारी गरेको छ । यसका लागि विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर अध्ययन र व्यवस्थापन थालिसकेको छ । 


उपमहानगरपालिकाभित्र ललितकला अध्ययन अध्यापनबाट विद्यालय तहदेखि नै बालबालिकामा ललितकलाको अभिरुचि बढाउने र फस्टाउने अवसर पाउने अवधारणाअनुसार यो कदम चालिएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए । 


उपमहानगरभित्र ललितकलाप्रति विद्यार्थीको अभिरुचि र परिवेश, विद्यालयमा ललितकला अध्ययन अध्यापनको स्थितिबारे जानकारी लिन र ललितकलाको व्यवस्थित तथा दीर्घकालीन विकास गर्न कक्षा व्यवस्थापन गर्ने विषयलाई मिहिन अध्ययन गरेर प्रतिवेदन तयार पार्न पनि उनले कार्यदललाई सुझाव दिए ।


यससम्बन्धी अध्ययन गरी प्रक्रिया अगाडि बढाउन गत वैशाखमा डा.तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो । विभिन्न विषयविज्ञ सम्मिलित कार्यदलले विस्तृत अध्ययन गरी उपमहानगरमा प्रारम्भिक प्रतिवेदन पेस गरेर सुझाव मागेको छ । 


कार्यदलले काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका ललितकला विभागका प्रोफेसरसँग अन्तरक्रिया गरी प्रारम्भिक प्रतिवेदन तयार पारेको कार्यदलका संयोजक भुसालले बताए । यही प्रतिवेदनका आधारमा शनिबार बुटवलमा सुझाव संकलन गरिएको थियो । 


प्रतिवेदनमा प्रमुख सुवेदीले बालबालिकालाई उचित अवसर दिन र व्यावसायिक रुप दिएर राष्ट्रिय हितमा केन्द्रित गराउनुपर्ने सुझाव दिए । विद्यालय तहदेखि नै ललितकलाका विधागत सिप विकासका लागि अभिप्रेरणा जगाउन र स्थानीय कलासंस्कृतिको संरक्षण र संवद्र्धन गर्न अध्यापनको तयारी गरिएको प्रमुख सुवेदीले बताए । 


उपमहानगरपालिकामा ललितकलालाई विद्यालयदेखि नै अध्यापन गराइ विद्यार्थीलाई यसमा आकर्षित गर्न अध्ययन गरेर प्रतिवेदनलाई अन्तिम रुप दिन सुझाव दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।


विज्ञ डा.मुराहरी पराजुली, अजित खनाल, प्रेमबहादुर बस्नेतलगायतले ललितकलाका विभिन्न विधामा विशेष अभिरुचि भएका विद्यार्थीलाई ललितकला अध्यापनबाट उनीहरूले उच्च शिक्षा हासिल गर्न पाउने सुनिश्चितता हुने योजना बनाउन सुझाव दिए ।


आधारभूत तहदेखि नै ललितकलाको अध्यापन अन्यत्र कुनै पनि पालिकाले गराएका छैनन् । केही संस्थागत विद्यालयले चित्रकला, वाद्यवादन, नृत्य लगायतको आंशिक तथा पूर्णकालीन कक्षा सञ्चालन गरे पनि विषयगत नरहेको विज्ञको भनाइ छ ।


के हो ललितकला ?

ललितकला मानवीय भावनाको सौन्दर्यपूर्ण अभिव्यक्त हुने वास्तु, मूर्ति, संगीत, चित्र, साहित्य, अभिनय, गायन जस्ता विधामा फैलिएको ज्ञानको शाखा हो । पूर्वीय वाङमयअनुसार यसले मिहिन रूपमा मानव जीवनका विविध पक्षसँग सम्बद्ध चौंसठ्ठी कलालाई समेटेको हुन्छ । 


बुटवल उपमहानगरपालिकाका निजी विद्यालयमा पनि आंशिक रूपमा ललितकला अभ्यास भएको पाइन्छ भने निजी स्तरबाट सञ्चालित प्रशिक्षण केन्द्रमा गायन, वाद्यवादन, नृत्य, मूर्ति, चित्रकला विधा सिकाइने गरेको पाइए पनि व्यवस्थित, संस्थागत पद्धतिबाट अध्ययन अध्यापन नभएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।


कस्तो छ सम्भावना ?

बुटवल उपमहानगरपालिकाभित्र ललितकलाका कक्षा व्यवस्थापन एवम् सञ्चालन गर्न उपयुक्त देखिएको कार्यदलको प्रारम्भिक प्रतिवेदनको निश्कर्ष भएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन् । 


अभिभावक तथा विद्यार्थीको अभिरुचि, विद्यार्थी तथा दक्ष जनशक्ति उपलब्धता र विज्ञका अनुभव तथा सुझावका आधारमा बुटवल ललितकला अध्यापनका लागि उपयुक्त रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको आचार्यले जानकारी दिइन् । 


उपमहानगर आफैँले पनि ललितकला विद्यालय सञ्चालन गर्न सक्ने र विकल्पमा कुनै विद्यालयलाई छनोट गरेर वा सबै विद्यालयमा ललितकला अध्यापन गराउन सक्ने सम्भावना रहेको कार्यदलका संयोजक डा.भुसालले बताए ।