close

हुम्लाका तीन पालिकाका विद्यार्थीका हातहातमा पाठ्यपुस्तक

हुम्लाका तीन पालिकाका विद्यार्थीका हातहातमा पाठ्यपुस्तक

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको माथिल्लो भेगमा रहेका तीन गाउँपालिकामा ८५ प्रतिशत पाठ्यपुस्तक पुगेको छ । पुस्तक वितरणको जिम्मा पाएको रोकाया पुस्तक पसलले ८५ प्रतिशत पुस्तक जिल्लामा पुगेको बताएको हो ।

 

सीमकोट, नाम्खा र खार्पुनाथ पालिकामा गरी तीन गाउँपालिकामा पाठ्यपुस्तक वितरणको जिम्मा लिएको रोकाया पुस्तक पसलले निमावि, प्रावि र माविका गरी ८५ प्रतिशत पुस्तक पुर्‍याइएको सञ्चालक ज्ञानबहादुर रोकायाले जानकारी दिए ।

 

तीन पालिकामा रहेका ५८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत माध्यमिक र निमाविका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगिसकेको रोकायाले बताए ।

 

कक्षा १ का विद्यार्थीका एक–दुई विषयका पुस्तक मात्रै बाँकी रहेको र अन्य सबै पुगेको उनले दाबी गरे । निम्नमाध्यमिक विद्यालयको पनि आधाभन्दा बढी पुस्तक आइपुगेको र बाँकी पुस्तक चाँडै ल्याइने रोकायाले जानकारी दिए ।

 

रोकायाले भने, ‘अधिकांश विद्यालयबाट पाठ्यपुस्तकको माग धेरै आएपछि नेपालगञ्जबाट ल्याए पनि अन्तिममा लिन आउने कम हुने गर्छन् ।’ कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ भने साढे एक वर्षदेखि पठनपाठन ठप्प हुँदै आएको छ । 


हरेक वर्षको २ फागुनदेखि सुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोनाका कारण यो वर्षको गत १ असारबाट मात्र सुरु भएको थियो । जिल्लाको दक्षिण भेगमा रहेका रहेका चार पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् ।

 

अधिकांश गाउँपालिकाले पाठ्यपुस्तक समयमै पुर्‍याए पनि अधिकांश विद्यालयका विषयगत पाठ्यपुस्तक पुग्न नसकेको हुन् । जिल्लाको माथिल्लो भेगमा रहेका तीन गाउँपालिकाका लागि हवाई मार्गबाट ढुवानी भएर पाठ्यपुस्तक ल्याउनुपर्ने बाध्यता छ । दक्षिण भेगका चार पालिकाका विद्यार्थीका लागि पैदल मार्गबाट ढुवानी भएर पुस्तक लग्ने गरिएको छ ।