close

पालिकास्तरीय शिक्षा पाश्र्वचित्रका लागि ताप्लेजुङमा बन्यो कार्यदल

पालिकास्तरीय शिक्षा पाश्र्वचित्रका लागि ताप्लेजुङमा बन्यो कार्यदल

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– पालिकास्तरीय शिक्षा पाश्र्वचित्र तथा शिक्षा योजना निर्माणका लागि प्राविधिक सहयोग पुर्‍याउन  ताप्लेजुङमा ८ सदस्यीय प्राविधिक कार्यदल गठन गरिएको छ । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (ईजीआरपी) मार्फत कार्यदल गठन भएको हो । 


ईजीआरपीका जिल्ला संयोजक रेवती नेपालका अनुसार समितिले ताप्लेजुङका सबै पालिकामा १० वर्षे शिक्षा योजना तथा शिक्षा पाश्र्वचित्र निर्माणमा प्राविधिक सहयोग गर्नेछ ।


शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई संयोजक रहेको समितिमा फक्ताङलुङ गाउँपालिकाका शिक्षा अधिकृत जयप्रसाद रिजाल र वासु माविका शिक्षक शान्तिराम नेपाल विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन प्रणाली (आईईएमआईएस) विज्ञको रूपमा सदस्य रहनेछन् ।


पाथीभरा याङ्बरक गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङ र मेरिङदेन गाउँपालिकाको शिक्षा शाखा प्रमुख भीमप्रसाद पौडेल पालिकाका शिक्षा शाखाबाट सदस्य रहेका छन् । 


प्राविधिक कार्यदलमा शिक्षा योजना विज्ञको रूपमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालका जिल्ला कार्यक्रम संयोजक राजेन्द्र पन्त र शिक्षा योजना विज्ञका रूपमा सेवानिवृत्त लेखा अधिकृत रामचन्द्र नेपाल प्राविधिक कार्यदलमा रहनेछन् ।

 

सेवानिवृत्त नेपाल करिब १४ वर्षसम्म तत्कालीन शिक्षा कार्यालयमा लेखा फाँटमा कार्यरत रहेको ईजीआरपीका जिल्ला संयोजक उनले बताए । 

 

ईजीआरपीका जिल्ला संयोजक नेपाल कार्यदलको सदस्यसचिव रहनेछन् । उनका अनुसार ईजीआरपी जिल्ला समन्वय समितिले शिक्षा योजना निर्माणका क्रममा पालिकालाई गर्नुपर्ने प्राविधिक सहयोगको क्रमसमेत निर्धारण गरेको छ ।


शिक्षा योजना निर्माणका लागि ताप्लेजुङका ९ पालिकामध्ये मिक्वाखोला गाउँपालिका अग्रपंक्तिमा छ । ईजीआरपी जिल्ला संयोजक नेपालका अनुसार फक्ताङ्लुङ दोस्रो, मेरिङ्देन तेस्रो, मैवाखोला चौथो र आठराई त्रिवेणी गाउँपालिका पाँचौँ स्थानमा छन् ।

 

यस्तै, पाथीभरा याङ्बरक गाउँपालिका छैटौँ, फुङ्लिङ नगरपालिका सातौँ, सिरिजंगा आठौँ र सिदिङ्वाका नवौँ स्थानमा रहेको ईजीआरपी जिल्ला समन्वय समितिले जनाएको छ । 


ईजीआरपी कक्षा १–३ मा अध्ययनरत बालबालिकाको पठनसीपमा सुधार गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम हो ।