काठमाडौं– काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म स्थानीय पाठ्यक्रम लागू गरेका छैनन् ।
संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठन सुरु गर्ने भन्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई रहे पनि काठमाडौँ जिल्लाका नागार्जुन, टोखा र कीर्तिपुर नगरपालिकाले अझैसम्म लागू गर्न सकेका छैनन् ।
सुरु गर्न बाँकी रहेका दुई स्थानीय तहले यही शैक्षिक सत्रदेखि लागू गर्नेगरी व्यवस्था भइरहेको बताएका छन् भने कीर्तिपुर नगारपालिकाले कोरोना महामारी कम भएपछि सुरु गर्ने जनाएको छ । बाँकी अन्य आठ स्थानीय तहले पठनपाठन गराइरहेका छन् । अहिलेसम्म लागू गरेकामध्ये धेरैले नेपाली भाषा रोजेका छन् ।
काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिकाले भने नेपाल भाषा छनोट गरेका छन् । त्यसमध्ये गोकर्णेश्वर नगरपालिकाले सबैभन्दा पहिले विगत तीन वर्षदेखि नै आफ्नो पाठ्क्रम तयार गरी पठनपाठन गराइरहेका छन् । काठमाडौँ महानगरापलिका, चन्द्रागिरि, शङ्खरापुर, कीर्तिपुर, दक्षिणकाली, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकामा हाल पठनपाठन भइरहेको छ ।
नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा ९२० र ९३० मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन/अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।
कामपाले गत शैक्षिक सत्रदेखि नेपाल भाषामा अध्ययन गराउन सुरु गरेको हो । काठमाडौँका अन्य स्थानीय तहले पुरानै शिक्षकबाट स्थानीय विषयलाई अगाडि बढाइरहँदा कामपाले आफ्नै साधन र स्रोतमा शिक्षकको दरबन्दी सृजना गरी विद्यालयमा पठाएको छ ।
केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।
अधिकांशको पहिचान मठमन्दिर र धर्म संस्कृति
पढाउन सुरु गरिसकेका र तयारीमा रहेका सबै स्थानीय तहका पाठ्यक्रमको मुख्य विषयवस्तु आफ्नो क्षेत्रको धर्म संस्कृति, भाषा, रहनसहन, पर्यटकको आकर्षक केन्द्र ऐतिहासिक सम्पदा र उद्यान रहेको छ । आ–आफ्नो स्थानीय तहमा रहेको ऐतिहासिक सम्पदाको पहिचान गराई तिनको संरक्षणमा सन्ततिलाई जिम्मेवार बनाउने उद्देश्यका साथ पाठ्यक्रम लागू गरिएको शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकामा निजी र सामुदायिक गरी ८० विद्यालय छन् । ती सबै विद्यालयमा अहिले चन्दागिरिको पहिचान झल्कने ‘हाम्रो चन्दागिरि’ नामको पुस्तक पठनपाठन भइरहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।
काठमाडौँ महानगर र कीर्तिपुरले छाने नेपाल भाषा
काठमाडौँ जिल्लाका अन्य नौ स्थानीय तहले नेपाली भाषालाई छनोट गरिरहँदा कामपा र कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई पठनपाठनको माध्यम बनाएका छन् । कामपामा उक्त विषय पठनपाठन सुरु भइसकेको छ भने पाठ्यक्रम तयार भए पनि कीर्तिपुरमा भने हालसम्म सुरु गरेको छैन । कोरोना महामारी केही कम भए पनि मात्र पठनपाठन सुरु गर्ने तयारी नगरपालिकाको छ ।
कला, धर्म संस्कार र संस्कृति नै काठमाडौँ उपत्यकाको पहिचान रहेको भन्दै कामपा र कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्क्रम पठनपाठनका लागि नेपाल भाषा छनोट गरेका छन् ।
कामपा प्रमुख विद्यासुन्दर शाक्य काठमाडौँ नेवारहरुको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको बताउँछन् ।