close

शिक्षिकालाई शिशु स्याहार्न सिकाउँदै भक्तपुर

नानीबाबुलाई सिकाउँदा–सिकाउँदै बालापन सम्झिएर बच्चा बन्छन् गुरुआमा

शिक्षिकालाई शिशु स्याहार्न सिकाउँदै भक्तपुर

नानीबाबुलाई सिकाउँदा–सिकाउँदै बालापन सम्झिएर बच्चा बन्छन् गुरुआमा

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाकी नजरमाया उमेरले ५० पुगे पनि दैनिकजसो व्यस्त हुन्छिन् । बिहान सबैरे उठी घरायसी काम सकाएर खाना खाई ११ बजे गोल्मढीस्थित शिशु स्याहार केन्द्र पुग्छिन् । त्यहाँ उनीजस्तै महिला भेला भएर मादल बजाउनदेखि कोठा सजाउने आकर्षक सामग्री बनाउन थाल्छन् । 

 

उनी शिशु स्याहार केन्द्रमा शिक्षिकाको रूपमा कार्यरत छिन् । साना नानीलाई पढाउने उनी अहिले आफैं सिक्दै छिन् । मनमाया भन्छिन्, ‘सिक्दै गर्दा मलाई बचपना याद आउँछ । आफैं बच्चा भएजस्तै अनुभव आउँछ ।’

२०५६ मा भक्तपुर नगरपालिकाले शिशु स्याहार केन्द्र स्थापना गरेको थियो । केन्द्रले साना नानीको हेरचाह गर्ने भए पनि त्यसबेला उनीहरूलाई सुताउने, खुवाउने गर्दैमा दिन बित्ने उनी सुनाउँछिन् । अहिले कक्षाकोठा रंगीबिरंगी भई सजिएका छन् । 


नानीलाई खेल मैदानको व्यवस्था गरिएको छ । केन्द्र भौतिक संरचनाले पनि समृद्ध बनेको छ । अब नानीलाई सुताउने र खुवाउने मात्रै होइन, बौद्धिक विकाससमेत गर्न सक्ने विश्वास उनको छ । 

 

पालिकाले शिशु स्याहार केन्द्रका शिक्षिकालाई अतिरिक्त क्रियाकलापका लागि तालिम दिँदै आएको छ । कोरोना महामारीले विद्यालय र शिशु स्याहार केन्द्र सञ्चालन गर्ने अवस्था नरहेको भन्दै पालिकाले फुर्सदको समय शिक्षिकालाई खेर गएका कागजको सामग्री बनाउने, बालगीतमा मादल भर्ने, खेल खेल्न सिकाउने, अक्षर र अंकबाट चित्र कोर्न सिकाउने, मोटिभेसन दिनेजस्ता तालिम सञ्चालन गर्दै आएको छ ।

 

नगरपालिकाको बालविकास तथा शिशु स्याहार केन्द्र शाखा प्रमुख दीपेन्द्र प्रजापतिले शिक्षिकालाई प्रशिक्षण दिँदै आएका छन् । प्रत्येक दिन बिहान ११ बजेदेखि सुरु हुने तालिम ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।


शाखा प्रमुख प्रजापतिका अनुसार पालिकाले हाल नगरभित्र ६ स्थानमा केन्द्र सञ्चालन गर्दै आएको छ । प्रत्येक केन्द्रमा दुई शिक्षक र दुई जना आया दिदीको व्यवस्था गरिएको छ । 

 

हाल केन्द्रका १२ जना शिक्षिकालाई तालिम दिइएको प्रजापतिले बताए । तालिममा सिकाएका कुरालाई कक्षाकोठामा व्यावहारिक रूपमा लागू गरिने उनले जानकारी दिए । 

 

केही समयअघि शिक्षिका तथा आया दिदीलाई मादल बजाउने प्रशिक्षण दिएको स्मरण गर्दै उनले भने, ‘त्यसबेला आंशिक मात्र सिकेका थिए । अहिले जुनसुकै गीतमा पनि मादल बजाउन सक्ने भइसके ।’ हाल केन्द्रका शिक्षिकालाई सिकाइएको सीप कक्षाकोठामा नानीलाई कथा सुनाउन, रमाइलो गरेर खुसी बनाउन प्रयोग गरिँदै आएको छ ।