close

महोत्तरीमा खुले ५० प्रतिशत विद्यालय

महोत्तरीमा खुले ५० प्रतिशत विद्यालय

Trulli
ADVERTISEMENT

महोत्तरी– कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा खुकुलिएपछि महोत्तरीका शिक्षण संस्थाहरू धमाधम खुल्न थालेका छन् । कोभिड महामारीका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका शिक्षण संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पढाइ सञ्चालन गर्न सक्ने आदेश जिल्ला प्रशासन कार्यालय तथा जिल्ला कोभिड व्यवस्थापनबाट पाएपछि विद्यालय खुलेका हुन् । 

 

जिल्लाका १५ वटै स्थानीय तहमा अहिले ५० प्रतिशत बढी निजी तथा सरकारी विद्यालय सञ्चालन गरिएका छन् । ‘विद्यालय खोल्ने वा नखोल्ने जिम्मेवारी अहिले स्थानीय सरकारलाई दिइएको छ । स्थानीय सरकारले जोखिम नभएको महसुस गरे विद्यालय खोल्न सकिनेछ’, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ।

 

पालिकाका ग्रामीण क्षेत्रमा अहिले सबै शिक्षण संस्था खोलिएको छ भने सहरी क्षेत्रमा जोखिम अवस्थालाई हेरेर खोलिएको छ । धमाधम विद्यालय खुल्न थालेपछि अभिभावक तथा विद्यार्थी उत्साही छन् ।


‘छोराछोरी पढ्न भन्दा विद्यालय नखुल्दा मोबाइल चलाएर पढाइमा कमजोर बनेका थिए । अब विद्ययालय खुले । खोपको व्यवस्थापन गरिने भनिएको । खुसी लागेको छ’, वर्दिबास वडा नम्बर ३ का अभिभावक टेकबहादुरले भने । 

 

औपचारिक रूपमा विद्यार्थी नियमित पठनपाठनमा सहभागी गराउन विद्यालयले अभिभावकलाई पत्राचार गरिरहेका छन् ।  झन्डै ९० प्रतिशत विद्यार्थी नियमित विद्यालयमै आएर पठनपाठनमा सहभागी भइरहेको टुटेश्वरनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बर विकले जानकारी दिए । टाढाबाट आउने विद्यार्थीबाहेक नजिक घर भएकाहरू नियमित कक्षामा सहभागी भइरहेको विकको भनाइ छ ।

 

सरकारी विद्यालयको निजी बस
 

बर्दिबास नगरपालिकामै पहिलो पल्ट सरकारी विद्यालयले विद्यार्थी बोक्न आफ्नै बस सञ्चालनमा ल्याएको छ । बर्दिबास नगरपालिकाको वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय कालापानीले नगरपालिकामै पहिलो पटक आफ्नै निजी बस सञ्चालनमा ल्याएको हो ।

 

टाढाबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको आउजाउ समस्यालाई दृष्टिगत गरी स्थानीय टोल सुधार समितिले उक्त बस मंगलबार विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक नवराज दाहालले जानकारी दिए ।

 

बस सेवा सुरु भएपछि स–साना बालबालिका पैदल हिँडेरै विद्यालय आउनु नपर्ने र टोल–टोलमै पुगेर विद्यालयमा ल्याउन सहयोग हुने प्रधानाध्यापक दाहालले बताए । अहिले सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय पढाइ भइरहेको छ ।