close

विद्यालय खुलाउन माग राख्दै नगरप्रमुखलाई ज्ञापनपत्र

विद्यालय खुलाउन माग राख्दै नगरप्रमुखलाई ज्ञापनपत्र

Trulli
ADVERTISEMENT

भक्तपुर– विद्यालय सञ्चालनको माग राख्दै भक्तपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको छ । नगरको आधारभूत विद्यालय समिति भक्तपुरले नगरप्रमुख सुनील प्रजापतिलाई ज्ञापनपत्र बुझाएको हो । समितिका अध्यक्ष दीपक माकले ५ बुँदे मागसहित उक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख प्रजापतिले कोभिडका कारण भौतिक उपस्थितिमा विद्यालयमा कक्षा सञ्चालन चुनौतीपूर्ण भएको बताए ।

 

उनले कोभिड जोखिमबीच विद्यालय सञ्चालन गर्ने विषयमा नगरका सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिसँग चरणबद्ध छलफल चलाइरहेको उल्लेख गरे । शिक्षा मन्त्रालयले बनाएको विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजनाअनुसार अगाडि बढ्ने तयारी भइरहेको उनले जानकारी दिए ।

 

उक्त ज्ञापनपत्रमा कोभिड संक्रमणका कारण लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको शिक्षण सिकाइमा आशातीत रूपमा प्रभावकारी बन्न नसकेको, धेरै विद्यार्थी भएका विद्यालयको हकमा चरणबद्ध आलोपालो गरी कक्षा सञ्चालन गर्न दिनुपर्ने, कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री यथासक्दो छिटो उपलब्ध गराई शिक्षकका लागि प्रवोधीकरण सञ्चालन गर्नुपर्ने माग राखिएको छ ।


यस्तै, शैक्षिक वर्ष २०७८ मा लागू भएका कक्षा २ र ३ को एकीकृत पाठ्यक्रम र कक्षा ६ को नयाँ पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने, आधारभूत विद्यालयको स्थायित्व एवं विकासमा ध्यान दिनुपर्ने र सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहयोगीको पारिश्रमिक वृद्धि गर्नुपर्नेलगायत माग रहेका छन् ।


यसअघि विद्यालय सञ्चालन गर्ने विषयमा भक्तपुर नगरपालिकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिसँग छलफल गरी आवश्यक राय सुझाव लिएको थियो । 

 

बैठकमा विद्यालयका प्रतिनिधिले विद्यालय सञ्चालन गरेका अरू नगरको स्थिति हेरेर आचारसंहिता पालना गरी चरणबद्ध रूपमा कक्षा सञ्चालन गर्नुपर्ने, सार्वजनिक विद्यालयमा अनलाइन कक्षा भौतिक उपस्थितिजस्तो प्रभावकारी नभएको बताए ।


अनलाइन कक्षा आधारभूत तहमा प्रभावकारी नभएको, विद्यार्थीमा सञ्चारको नकारात्मक असर पुगेको, अनलाइन कक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजानुपर्ने आग्रह उनीहरूको छ ।