जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले माग गरेको करार सेवाका नर्सिङ स्टाफ नर्सका विषयमा परीक्षा समितिले त्रुटि गरेपछि विवादित बनेको छ । आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमै नाम निकालिएपछि विवाद सतहमा आएको हो । गत ३० साउनमा गरिएको सार्वजनिक सूचनाअनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएकामा १६३ जनाले आवेदन दिएका थिए ।
त्यसबाट पनि प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन सूचीमा सपना न्यौपाने नभएर सपना नेपालीको नाम सूचीमा प्रकाशित भयो । यसरी लिखितमा नाम निकाल्न सफल परीक्षार्थीको नाम भने सूचीमा उल्लेख छैन । प्रष्ठिानले २६ भदौमा शनिबार लिखित परीक्षा लिएको थियो ।
प्रष्ठिानले यस पटक परीक्षा कोडिङ र डिकोडिङ प्रणालीबाट सञ्चालन गरेको थियो । प्रतिष्ठानले परीक्षा मर्यादित बनाउनकै लागि कोडिङ प्रणाली लागू गरेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए । उनले भने, ‘कुनै पनि परीक्षार्थीलाई हामीले लिएको परीक्षाको नतिजामा चित्त नबुझे ४८ घन्टाभित्र रि–चेकका लागि निवेदन दिने व्यवस्था गरेका थियौँ ।’ महतका अनुसार रि–चेकका लागि ८ जना विद्यार्थीले निवेदन दिएका छन् । ८ जनामध्ये एक जना सपना न्यौपाने रहेको उनले बताए ।
सपना न्यौपानेको परीक्षा पेपर रि–चेक गर्दा एक नम्बरमा नाम आउन सफल भएको उनको दाबी छ । सदीक्षा रोकायाको र सपना न्यौपानेको चेकजाँच गर्दा डिकोडिङमा भुलवश त्रुटि भएको स्वीकारे । रजिस्ट्रार महतले सपना न्यौपाने अब्बल विद्यार्थी भएकाले अन्याय नहोस् भनेरै नतिजा पुनः संशोधन गरिएको हो । यसरी मौखिक परीक्षा २९ भदौमा लिएर अन्तिम नामावलीमा उनको नाम पहिलो नम्बरमा समावेश भएको हो । त्यहाँ उनलाई एसएन ०५७ कोडिङ दिइएको छ, जुन कोडिङ लिखित परीक्षामा सदीक्षा रोकायाको हो ।
आवेदकको सूचीमा सपना न्यौपाने नामै छैन भने संशोधित नतिजामा उनले लिखितमा नाम निकालेको भन्दै समावेश गरिएको छ, जहाँ उनलाई एसएन ०३९ कोडिङ दिइएको छ ।
परीक्षा समितिको कोडिङ र डिकोडिङ नम्बरमा मानवीय त्रुटिकारण यस्तो भएको दाबी महतको छ । उनले भने, कुनै पनि नियत नभएर परीक्षा समितिको ‘प्राविधिक त्रुटि हो । तर, यस विषयमा सामाजिक सञ्जालमा आलोचना भएको छ ।’ त्यस्तै, सदीक्षा रोकायाका बुबा दलसिंह रोकायाले यसअघि पनि सदीक्षाले प्रष्तिठानको लिखित परीक्षामा तीन पटक नाम निकाल्दा मौखिकमा फालिएको बताए ।
उनले भने, ‘प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा राजनीतिक भर्ती केन्द्र बनेको छ । हामीजस्ता पहुँचविहीनका छोराछोरीको पढाइले महत्त्व पाउँदैन । प्रतिष्ठान निष्पक्ष हुन्थ्यो भने लोकसेवा आयोगलाई परीक्षा लिने जिम्मेवारी दिन सक्थ्यो । महिनामा ५०÷५० हजार रुपैयाँसम्म तलब खाने कर्मचारीका लागि लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितबिना परीक्षा लिइनु गलत हो ।’ प्रतिष्ठान आलोचित भएको भने यो पहिलो पटक होइन । यसअघि पनि पटक–पटक विभिन्न कारणले परीक्षा विवादमा पर्दै आएको थियो ।
सपना न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा आवेदन दिएको बताइन् । उनले भनिन्, ‘आवेदन सूचीमा मेरो नाम सपना नेपाली भएको थियो र एसएन ०३९ थियो । प्रवेशपत्रमा सपना न्यौपाने नै भएकाले परीक्षा दिएकी हुँ ।’ यो विषयमा छलफल गर्दा आवेदन सूचीमा सपना नेपाली भए पनि फरक नपर्ने परीक्षा समितिले भनेपछि परीक्षा दिएको उनको दाबी छ ।
‘मैले परीक्षा दिँदा राम्रो गरेकी थिएँ तर पनि रिजल्टमा नाम आएन’, उनले थपिन्, ‘परीक्षाको नतिजामा चित्त नबुझे ४८ घन्टाभित्र रिचेकका लागि निवेदन दिन सकिने व्यवस्था रहेछ । परीक्षा पेपर रिचेकका लागि निवेदन दिएकी हुँ ।’ निवेदनपछि पुनः प्रष्ठिानले संशोधित प्रकाशित सूचनामा आप्mनो समावेश गरेको उनले बताइन् । उनले भनिन्, ‘मेरो बागमती प्रदेशमा अन्तर्वार्ता भएकाले छिटो पुग्नुपर्ने थियो । सबैभन्दा अगाडि मौखिक परीक्षा दिएर आएकी हुँ । यसमा मेरो कुनै कमजोरी छैन ।’