close

स्वास्थ्य मापदण्ड अपनाएर मात्रै विद्यालय खुलाउन विज्ञको सुझाव

स्वास्थ्य मापदण्ड अपनाएर मात्रै विद्यालय खुलाउन विज्ञको सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं– देशभर कोरोना महामारीको जोखिम बीच विद्यालय खुल्न थालेका छन् । स्थानीय तहले जोखिम आकलन गरेर आफ्नो क्षेत्रका विद्यालय खुलाउन पाउने भएपछि विद्यालयमा नियमित पढाइ हुन थालेको हो ।  उपत्यकाभित्र पनि धेरै विद्यालय खुलिसकेका छन् । गोकर्णेश्वर नगरपालिकाले पालिका स्तरको निर्णय गरेर आफ्नो क्षेत्रका सबै विद्यालय खुलाएको छ । अहिले गोकर्णेश्वरभित्रका सबै विद्यालयले विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएरै पढाउन थालिएको छ । 

 

काठमाडौं महानगरभित्रका विद्यालय पनि धमाधम खुलिरहेका छन् । तर, महानगरले औपचारिक रूपमा केही निर्णय भने नगरेको महानगरको शिक्षा विभागका अधिकृत मोतीराम भट्टराई बताउँछन् । ‘हामीले विद्यालय खुलाउन औपचारिक निर्णय गरेका छैनौँ,’ उनले भने, ‘तर मापदण्ड पालना गरेर खुलाउने तरखरमा छौँ ।’ 

 

अनलाइन कक्षा प्रभावकारी भएका विद्यालयलाई दसैँअघिसम्म त्यसरी नै चलाउने कि भन्ने प्रस्ताव आइरहेको उनले बताए । नगर शिक्षा शाखाले छलफल गरेर निर्णय गर्ने उनको भनाइ छ ।  गोकर्णेश्वरका मेयर सन्तोस चालिसेले विद्यालय बन्द भएका कारण विद्यार्थीको भविष्य अन्योलमा परेकाले भौतिक उपस्थितिमै पढाइ सुरु गरिएको बताए । ‘लामो समय विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य अन्योल हुने देखियो,’ उनले भने, ‘अनलाइनको पहुँच सबैसँग छैन । कतिन्जेल पर्खने ? त्यसैले नगरले निर्णय गरेर पढाइ सुरु गरेका हौँ ।’  सुरक्षा मापदण्डलाई ख्याल गरेर खुलाइएको उनको दाबी छ । 

 

जिल्ला प्रशासन कार्यलयले भने भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न रोक लगाएको छ । स्थानीय सरकारलाई विद्यालय खुलाउने अधिकार भए पनि मापदण्ड पालना गरेर मात्रै खुलाउन विज्ञको सुझाव छ । 

 

विद्यालयले पुरानै तरिकाबाट विद्यालय खोल्न नमिल्ने बताउँछन्, भाइरोलोजिस्ट डा. बाबुराम मरासिनी । ‘विद्यालय खोल्न जोखिम कायमै छ,’ उनले भने, ‘खोलाउने हो भने पुरानै तरिकाबाट पठनपाठन गर्न मिल्दैन । स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ ।’ उनका अनुसार विद्यालयमा हात हुने ठाउँ, पानीको राम्रो प्रबन्ध गरिनुपर्छ । कक्षाकोठामा हावा वहने ठाउँ हुनुपर्छ । 

 

शिक्षकलाई राम्रोसँग मापदण्ड पालना गराउन तालिम दिनुपर्ने उनको सुझाव छ । ‘शिक्षकलाई पनि तालिम दिनुपर्छ,’ उनले भने, ‘अर्को विषय भनेको यदि बालबालिका संक्रमित देखिए भने के गर्ने भनेर पूर्वयोजना बनाएर सञ्चालन गर्नुपर्छ ।’  विद्यालयले सिफ्टअनुसार विद्यार्थीलाई बिहान–बेलु्का पढाए उचित हुने उनले बताए । त्यसरी पढाउँदा विद्यालयमा विद्यार्थीको चाप कम हुने उनको धारणा छ ।