close

तालगाउँका विद्यालयमा मस्र्याङ्दी हेलिएपछि टेन्टमै पढ्छन् बालबालिका

तालगाउँका विद्यालयमा मस्र्याङ्दी हेलिएपछि टेन्टमै पढ्छन् बालबालिका

Trulli
ADVERTISEMENT

मनाङ– मनाङको प्रवेशद्वार सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्येमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत १ असारमा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा पर्‍यो ।

 

गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँबासी जंगलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा बाढीको जोखिम उत्तिकै छ । पहिलेको बस्तीमा गाउँबासी बस्ने अवस्थामा छैनन् । झन् विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्थै छैन ।

 

भविष्यका कर्णधार बालबालिकाको भविष्य बनाउने जिम्मेवारी विशेषगरी जनप्रतिनिधिलाई दिइएको छ । जनप्रतिनिधिको सक्रियतामा बाढीपीडित बालबालिकालाई पठनपाठनको व्यवस्था गरिएको छ । बालबालिकाको भविष्य बनाउन टेन्टमै पठनपाठन गर्ने व्यवस्था गरिएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । उनका अनुसार बालबालिकाको भविष्य बनाउने जिम्मेवारी भएकाले टेन्टमै भए पनि पठनपाठनको व्यवस्था गरिएको छ ।  ‘प्रकृतिले बालबालिकाको भविष्यमै पुर्‍याएको क्षतिको पूर्ति गर्नुपर्ने जिम्मेवारी हाम्रो हो । भविष्य निर्माणका लागि टेन्टमा नै पढ्ने व्यवस्था गरिएको छ । पठनपाठन सुरु पनि भइसकेको छ’, अध्यक्ष घलेले भने ।

 

बाढीपहिरोका कारण स्थानान्तरण भएका बालबालिकाको भविष्यलाई लक्षित गरी पठनपाठनको व्यवस्था गरिएको उनले बताए । कोभिड–१९ बाट केही तंग्र्रिएको अवस्थामा पुनः बाढीले थलिएका बेला पालिकाका जनप्रतिनिधिले सहयोग पुर्‍याएको भानु माविका प्रधानाध्यापक श्याम पन्थीले जानकारी दिए ।

 

उनका अनुसार जनप्रतिनिधिकै सहयोगले यहाँका बालबालिकाले पठनपाठन गर्ने भएका छन् । ‘उहाँहरूको सहयोगले अस्थायी तवरबाट टेन्ट टाँगी बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चत गरिदिनुभएको छ’, पन्थीले भने ।

 

बालबालिकाको पठनपाठनका लागि ताल गुम्बाको प्रांगणमा व्यवस्थापन गरिएको छ । बाढीले बालबालिकाको मनोवैज्ञानिक असर पनि पारेको छ । यससँगै बाढीबाट बालबालिकामा पारेको मनोवैज्ञानिक असरलाई समेत निराकरण गरी उनीहरूको उज्ज्वल भविष्य निर्माणमा जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका र योगदानप्रति तालगाउँबासी खुसी छन् ।

 

नासों वडा नम्बर १ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । तीन मावि र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

 

‘जोखिमको अवस्थामा तालगाउँका बालबालिकाका लागि पठनपाठन सञ्चालन गर्न लागिएको छ । टेन्टमै तयारी गरिएको छ । बालबालिकालाई नैसर्गिक अधिकारबाट वञ्चित गराउनुहुँदैन भनेर गाउँपालिकाको सहयोगमा तयारी गरिएको छ’, रेग्मीले भने । बाढीपहिरापछि मनाङमा कोभिड न्यूनीकरण भएसँगै विद्यालय खुला गरिएको उनले बताए । 

 

त्यस्तै, नासों वडा नम्बर ६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाश ज्योति माविलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूधखोलाले क्षति पु¥याएको छ । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुंगे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकिँदैन । जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका वडा नम्बर ६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए ।

 

सदरमुकाम चामे गाउँपालिका वडा नम्बर ४ स्थित नमुना विद्यालय लोकप्रिय माध्यमिकमा आउजाउका लागि नेपाली सेनाको श्रमदानमा फड्के र तारबार गरिदिएपछि पठनपाठन सञ्चालन भइसकेको छ । छात्राबाससहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहे पनि पठनपाठन भइरहेको छ ।