काठमाडौं– बझाङको केदारेस्यु गाउँपालिका छाटोस्थित नमुना भैरव माविमा पछिल्ला वर्षमा छात्रा अनुपस्थितको दर शून्यमा झरेको छ । ८ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा छात्रा संख्या ४ सयमाथि छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समितराज गिरीले भने,‘महिनावारी हुँदा छात्रा विद्यालय आउँछन् । विद्यालयले नै स्यानिटरी प्याड वितरण गर्दछ । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पाठ कक्षामा पढाइ हुँदा कक्षा छाड्दैनन् । आफूलाई आइपरेका समस्या साथी तथा शिक्षकसँग खुलेर राख्छन् ।’
जिल्लामा पहिलो पटक सो विद्यालयले संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपीए) को आर्थिक एवं प्राविधिक सहयोगमा किशोर–किशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा ल्याएको थियो । ‘किशोर–किशोरीले कक्षाकोठामा नसिकेका यौन तथा प्रजनन स्वास्थ्य र बृहत् यौनिकता शिक्षासम्बन्धी सूचना तथा जानकारी त्यहाँ राखिएका रुपान्तरण पुस्तिकामार्फत सिक्छन्’, उनले भने ।
उमेरअनुसारको किशोर–किशोरीलाई बृहत् यौनिकता शिक्षा दिँदा समुदायमा सकारात्मक प्रभाव पर्छ भन्ने राम्रो उदाहरण विद्यालयले प्रस्तुत गरिराखेको छ । उनले भने, ‘किशोरी महिनावारी हुँदा विद्यालय नजाने प्रचलन अन्त्य भएको छ । २० वर्षवारि विवाह गर्ने कुप्रथा र लैंगिक हिंसा न्यूनीकरण भएको छ । किशोर–किशोरीले आफ्ना समस्या निर्धक्क भन्न सक्ने भएका छन् भने अभिभावकमा पनि सचेतना आएको छ ।’
बैतडी, पाटन नगरपालिका वडा नम्बर ९ स्थित ज्ञानेश्वर माध्यमिक विद्यालय पाटनका स्वास्थ्य, जनसंख्या, वातावरण विषय शिक्षक दानबहादुर महरालाई अहिले यौन तथा प्रजनन स्वास्थ्य कक्षा सञ्चालनमा लाज र संकोच लाग्दैन । उसो त कक्षाका छात्रछात्रा पनि यस विषयमा खुलेर आफ्ना जिज्ञासा राख्ने गर्छन् ।
सो विद्यालयमा कुल ५२५ विद्यार्थीमध्ये २३० छात्रा अध्ययनरत छन् । उनले भने, ‘सुरु–सुरुमा मलाई पनि बृहत् यौनिकता शिक्षाको कक्षा लिन नपरोस्जस्तो लाग्थ्यो । एक जना पनि छात्रा कक्षामा बस्दैनथे, बसेका पनि मुख छोपेर बस्दथे । रुपान्तरण, यौन तथा प्रजनन स्वास्थ्यसहित बृहत् यौनिकता शिक्षाका महत्त्वसम्बन्धी तालिम लिन थालेपछि यसको महत्त्वबारे थाहा पाएँ । २०७३ मा विद्यालयमा किशोर–किशोरीमैत्री सूचना केन्द्र स्थापना गर्न समन्वय गरेँ । यसपछि मलाई यौन तथा प्रजनन स्वास्थ्यका कक्षा लिन यसले सजिलो बनाइदियो । किशोरीले पनि कक्षा छाड्ने अवस्था अन्त्य गरिदियो ।’ उमेरअनुसारको यौनिकता शिक्षाले विद्यालयमा छात्रा अनुपस्थित हुने दर अन्त्य गरेको, बालविवाह र लैंगिक हिंसामा कमी आएको उनले जानकारी दिए । उनले भने, ‘उमेरअनुसारको शिक्षा प्रदान गर्न पाठ्यक्रममा बृहत् यौनिकता शिक्षालाई समावेश गराउँदै लग्नुपर्छ । यसले समग्र सिकाइमा सहयोग पुर्या उँछ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहकालाई किशोर–किशोरी भनिन्छ । पछिल्लो जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार १५ देखि १९ वर्षका २८ प्रतिशत किशोरीको विवाह सो उमेर समूहभित्र भइसक्छ । सो समूहकै १७ प्रतिशतले पहिलो बच्चा पनि सोही उमेर समूहभित्र जन्माइसक्छन् । अर्काेतर्फ १९ वर्षमुनिका किशोरीको गर्भाधान गर्ने दर प्रति १ हजारमा ८१ जना छन् ।
सोही सर्वेक्षणमा १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्येक पाँच महिलामध्ये एक जनाले शारीरिक हिंसा अनुभव गरेको पाइएको छ । चार विवाहित महिलामध्ये कम्तीमा एक जनाले श्रीमान्बाट आफ्नो जीवनावधिमा शारीरिक, यौनिक वा भावनात्मक हिंसाको अनुभव भोग्ने गरेका छन् । ३१ प्रतिशत पुरुष उत्तरदाताले श्रीमतीले भनेको नमानेमा पिट्नु स्वीकार्य भएको विश्वास गरेका छन् । हिंसा अनुभव गर्नेमध्ये ६६ प्रतिशतले आफूले भोगेका हिंसा प्रतिरोध गर्न वा रोक्न कसैको सहयोग खोज्ने वा कसैलाई भन्ने गरेको पाइँदैन ।
यसैगरी १८ वर्ष नपुग्दै ३८.४ प्रतिशत महिलाको विवाह हुन्छ । १५ देखि १९ वर्ष समूहका १७ प्रतिशत किशोरी आमा भइसक्छन् । तीमध्ये २२ प्रतिशत ग्रामीण र १३ प्रतिशत सहरी क्षेत्रका छन् । युएनएफपीए बैतडीका कार्यक्रम संयोजक गणेश शाही कम उमेरमा गर्भाधान गर्ने दरलाई कम गर्न, बालविवाह तथा लैंगिक हिंसा अन्त्य गर्न, किशोर–किशोरीको यौन तथा प्रजनन सेवाको पहुँचलाई विस्तार गर्न उनीहरूलाई उमेरअनुसारका बृहत् यौनिकता शिक्षा खाँचो रहेको औँल्याउँछन् ।
उनले भने, ‘युएनएफपीएले विद्यालयमा किशोर–किशोरीमैत्री सूचना केन्द्रको स्थापना, विषयगत शिक्षकका लागि बृहत् यौनिकता शिक्षासम्बन्धी आधारभूत तालिम, साथी शिक्षक तालिम, स्थानीय पालिकामा बृहत् यौनिकता शिक्षासम्बन्धी पैरवी, किशोरी सञ्जालमा रुपान्तरण कार्यक्रम, बृहत् यौनिकता शिक्षासम्बन्धी प्रदेशसभा सदस्यसँग पैरवी, किशोर–किशोरीमैत्री स्वास्थ्य सेवाको उपलब्धताका लागि सहयोग गरिरहेको छ ।’
नयाँ योजनामा बृहत् यौनिकता शिक्षा समावेश
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्तावित शिक्षा क्षेत्रको योजना (२०२१–२०३०) बृहत् यौनिकता शिक्षालाई समावेश गर्ने जनाएको छ । बालविवाह, मातृ मृत्युदर र लैंगिक हिंसाजस्ता सामाजिक विकासको चुनौती र असमानता न्यूनीकरणमा सो शिक्षाले महत्त्वपूर्ण सहयोग गरेको जनाउँदै मन्त्रालयले मस्यौदामा पनि यौनिकता शिक्षा प्रवद्र्धन गर्न लागेको हो ।
विद्यालय क्षेत्र विकास योजना (२०७३–२०७८) को अवधि यही आर्थिक वर्षका अन्त्यमा सकिँदै छ । सो योजनामा पनि सो शिक्षालाई समावेश गरिएको थियो । मन्त्रालयका सहसचिव डा. तुलसी थपलियाले यौन तथा प्रजनन स्वास्थ्य शिक्षालाई थप प्रभावकारी बनाउन बृहत् यौनिकता शिक्षालाई प्रस्तावित शिक्षा क्षेत्रको योजनामा समावेश गरिने जानकारी दिइन् ।
बृहत् यौनिकता शिक्षा भन्नाले यौनिकतासम्बन्धी ज्ञान, संवेग, शारीरिक र सामाजिक पक्षको सिकाइ प्रक्रिया भन्ने बुझिन्छ । यसले बालबालिका, किशोर–किशोरी तथा युवायुवतीको ज्ञान, मनोवृत्ति, सीप र मूल्यलाई सक्षम बनाउँछ ।
साथै, यो उमेर विशेष, सांस्कृतिक रूपमा स्वीकार्य, वैज्ञानिक तथा सूचनामा आधारित, विद्यालयभित्र र बाहिर दिन सकिने पाठ्यक्रममा आधारित शिक्षा हो । ५ वर्षदेखि ८, ८ देखि १२, १२ देखि १५, १५ देखि १८ उमेर समूहलाई यस्ता शिक्षाको बढी आवश्यकता पर्दछ । जन्मका आधारमा हुने जैविक गुणलाई यौन भनिन्छ ।
यौनिकता भनेको मानिसको जीवनको केन्द्रीय पक्ष हो । यौन एउटा प्राकृतिक विशेषता हो भने यौनिकता यौनसँग सम्बन्धित सम्पूर्ण भावको अभिव्यक्ति र जीवनशैली हो । उनले भनिन्, ‘उमेरअनुसारको यौनिकता शिक्षा दिने सरकारको नीति छ । यसका लागि पाठ्यक्रममा समावेश गरी पाठ्यपुस्तक निर्माण, शिक्षकलाई तालिम तथा विद्यालयको वातावण सोहीअनुसार बनाइँदै लगिनेछ । पछिल्लो समय विद्यालयमा स्थापना गरिएका किशोर–किशोरीमैत्री सूचना केन्द्र प्रभावकारी बन्दै गएका छन् । समग्रमा बृहत् यौनिकता शिक्षा अहिलेको परिवेशमा एक बहुआयामिक प्रभाव पार्न सक्ने एकीकृत कार्यक्रमका रूपमा देखिएको छ ।’
बृहत् यौनिकता शिक्षाका आठ अवधारणा सम्बन्ध, लैंगिताको बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका सीप, मानव शरीर र विकास, यौनिकता र यौन व्यवहार, यौनिक तथा प्रजनन स्वास्थ्य मूल्य, अधिकार, संस्कृति र यौनिकतालाई नयाँ नीतिमा समावेश हुनु आवश्यक मानिएको छ ।
युएनएफपीएद्वारा सञ्चालित ‘बृहत् यौनिकता शिक्षा परियोजना’का संयोजक अविराम रोय उमेरअनुसारको जीवनो उपयोगी शिक्षामा लागि बृहत् यौनिकता शिक्षालाई औपचारिक तथा अनौपचारिक दुवै शिक्षामा समावेश गर्न आवश्यक रहेकामा जोड दिन्छन् । उनले भने, ‘बृहत् यौनिकता शिक्षाको पठनपाठन र सिकाइमा सबैको पहुँच हुनुपर्छ । यसका लागि पाठ्यक्रममा समावेश गरी पाठ्यक्रम बनाउनुपर्छ । ती विषय पढाउने शिक्षकलाई तालिम तथा संस्थागत क्षमता अभिवृद्धि, समग्र विद्यालय यौन तथा प्रजनन स्वास्थ्य शिक्षामैत्री बन्नुपर्छ । पालिका तथा प्रदेशका नीति तथा बजेट यौनिकता शिक्षा प्रवद्र्धन गर्ने किसिमको हुनुपर्छ ।’
नेपाल परिवार नियोजन संघका वरिष्ठ जनसम्पर्क तथा पैरवी अधिकृत जमुना सिटौला बृहत् यौनिकता शिक्षाले बालबालिका तथा किशोर–किशोरीका मानसिक, शारीरिक तथा सामाजिक विकासका लागि उमेरअनुसार ज्ञान दिन सहयोग गर्ने हुँदा यसलाई शिक्षा नीतिमा समावेश गरी थप सुदृढ बनाउनुपर्छ भन्छन् । उनले भने, ‘बृहत् यौनिकता शिक्षाले किशोर–किशोरीलाई आफ्नो शरीर, यौन तथा प्रजनन स्वास्थ्यप्रति सचेत रहन, निर्णय लिन, यौनिक जीवनलाई स्वस्थकर बनाउन, एचआईभी, यौन संक्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुव्र्यवहार घटाउन सहयोग गर्छ । कम उमेरमा विवाह हुन नदिन तथा सन्तान नजन्माउन, जन्मान्तर कम गर्न, व्यवस्थित परिवार योजना बनाउन, परिवार नियोजनका साधनको प्रयोग र पहुँच बढाउन मद्दत गर्छ ।’ यसैगरी असुरक्षित यौन सम्पर्क, गर्भधारण, गर्भपतन, यौनजन्य संक्रमण र यौन अपराधमा समेत कमी ल्याउन सहयोग गर्ने उनको ठम्याइ छ ।
शिक्षाविद् डा. भगवान अर्यालका अनुसार बृहत् यौनिकता शिक्षा पाएको व्यक्तिले स्वस्थ यौन तथा पारिवारिक जीवन व्यतीत गर्न, प्राणघातक एवं संक्रामक रोग, अनिच्छित गर्भधारण, शोषण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुव्र्यवहारलाई घटाउन सक्छन् भन्ने प्रमाणित गरेका छन् । उनले भने,‘बृहत् यौनिकता शिक्षा अहिलेको परिवेशमा बहुआयामिक प्रभाव पार्न सक्ने एकीकृत कार्यक्रमका रूपमा देखिएको छ । यसैले यसलाई नयाँ शिक्षा योजनामा प्रभावकारी रूपमा सम्बोधन गरिनुपर्छ ।’