close

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सबैखाले सहयोग गर्न देवदह तयार

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सबैखाले सहयोग गर्न देवदह तयार

Trulli
ADVERTISEMENT

रूपन्देही–देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सबैखाले सहयोग गर्न तयार रहेको बताएका छन् । विश्वविद्यालयको स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाइड साइन्सेज डिनको कार्यालयले देवदहमा आयोजना गरेको परिचयात्मक तथा शुभकामना कार्यक्रममा प्रमुख खत्रीले उक्त कुरा बताएका हुन् ।

 

नगरप्रमुख खत्रीले योजना बनाएर स्रोतको पहिचान गरी अगाडि बढ्न विश्वविद्यालयलाई सुझाव दिए । लुम्बिनी विश्वविद्यालयलाई देवदहले सबैभन्दा धेरै जग्गा उपलब्ध गराएको उल्लेख गर्दै नगर प्रमुख खत्रीले लुम्बिनीस्थित विश्वविद्यालयको मुख्य केन्द्र देवदहलाई बनाउन जोड दिए ।


विश्वविद्यालयका डिन उकेशराज भुजुले छिट्टै तीन वटा विषयमा देवदहमै अध्यापन गराइने जानकारी दिए । बौद्ध दर्शन अर्थात् बुद्धले दिएको सन्देशलाई विश्वभर फैलाउन आवश्यक रहेको उनले बताए ।


विश्वविद्यालय बन्ने स्थान बुद्ध मावली सामुदायिक वनलाई तपोवनको रूपमा परिमार्जन गरी ध्यान केन्द्र बनाउने र शान्ति क्षेत्रमा विकास गर्नुपर्ने उनको भनाइ छ ।
विश्वविद्यालयका अनुसन्धान केन्द्रका निर्देशक जीतु गिरीले बृहत् बौद्ध शिक्षाका लागि बर्दघाटदेखि कपिलवस्तुसम्म बुद्ध सर्किटको रूपमा विकास गर्नुपर्ने उल्लेख गरे ।

 

विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले डिनको कार्यालय सञ्चालनका लागि कोसेली भवन उपलब्ध गराएकामा देवदहलाई धन्यवाद दिए ।
कार्यक्रम सुरु हुनुअघि बुद्ध भिक्षु आनन्दले बुद्ध वन्दना वाचन गरेका थिए । विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न वज्राचार्य, विभिन्न वडाका जनप्रतिनिधि, प्राध्यापक तथा विश्वविद्यालयका अधिकारीको उपस्थिति थियो ।