close

सप्तरीमा प्रभावकारी बन्दै घर सिकाइ अभियान 

सप्तरीमा प्रभावकारी बन्दै घर सिकाइ अभियान 

Trulli
ADVERTISEMENT

सप्तरी– स्याहारकर्ताबाटै बच्चालाई घरमै सुरक्षित शिक्षा दिन थालिएपछि सिकाइ प्रक्रिया प्रभावकारी बन्दै गएको छ । सप्तरीको सुरुंगा नगरपालिकामा सबल नेपाल नौलो शिक्षा नीतिले समाजलाई लाभ दिन थालेको हो ।


पितृसत्तात्मक सोचलाई बदल्दै सबल नेपालले नयाँ शिक्षण विधिको विकास गरेको छ । घरमा सुरक्षित सिकाइ कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गएपछि बालबालिकामा सिक्ने बानीको विकास भएको हो ।


स्कुल पठाउनुअगावै स्याहारकर्ताबाटै बालबालिकालाई मन्टेश्वरीको नयाँ शिक्षण विधि अपनाई आमाबाटै खेलको माध्यमले शिक्षा दिन थालिएपछि अभिभावक खुसी छन् । 


सबल नेपालले बच्चाका आमालाई प्रत्येक साता सहभागी गराई बच्चालाई कसरी शिक्षा दिने भन्ने विषयमा प्रशिक्षण दिने गरेको छ । स्याहारकर्ताले नै आफ्ना बच्चालाई शिक्षा दिन थालेपछि बालबालिकामा शिक्षासँगै संस्कारको पनि विकास भएको छ । सुरुंगा नगरपालिका वडा नम्बर ७ बस्नपट्टि, पोखरिया, हरिपुर, वडा नम्बर ८ र ९ मलहन, स्मसेरपुरमा घरमै सुरक्षित सिकाइ कार्यक्रम सञ्चालनमा छ ।

 

कार्यक्रम समाज र बच्चाका लागि निकै उपयोगी भएको सबल नेपालका कार्यालय प्रमुख नन्दकिशोर चौधरीले बताए । परियोजना अधिकृत राधेश्याम रामका अनुसार सबल नेपालले १९ देखिमाथि एवं ४५ वर्षमुनिका बेरोजगार युवायुवतीलाई क्षमता विकास र सीपमूलक तालिम दिई आर्जन वृद्धि गराउने कामसमेत गर्दै आएको छ ।  सुरुंगाको सहकार्यमा सबल नेपालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  सुरुंगाका नगरप्रमुख मुक्तिनाथ चौधरी नगरमा चल्दै आएको घरमा सुरक्षित सिकाइ कार्यक्रम प्रभावकारी देखिएको बताउँछन् । 


‘देशमा यस्तै शिक्षा नीतिको खाँचो रहेकाले आयोजक संस्थालाई यो कार्यक्रम उक्त सिकाई कार्यक्रम अझै १० वर्ष थप्न आग्रह गरेका छौँ,’ नगरप्रमुख चौधरीले भने ।
कार्यक्रमअन्तर्गत करिब १०० स्याहारकर्ता आमाद्वारा बच्चालाई शिक्षा दिइने गरेको छ । सयौँ बालबालिका सिकाइ कार्यक्रमबाट लाभान्वित भएका छन् ।

 

सिकाइ कार्यक्रमको उद्देश्य घरमै बालमैत्री वातावरण निर्माण गर्ने, बालमैत्री वातावरण निर्माण गर्न आमाहरूलाई जिम्मेवारी दिने, प्रत्येक घरमा बालमैत्री सिकाइका लागि स्थानीय सरकारलाई नीतिगत व्यवस्थामा सुधार ल्याउन सहजीकरण गर्नेलगायत छन् ।

 

यसरी पढाउँछन् आमा 

 

सुरुंगा नगरपालिका वडा नम्बर ८ की स्याहारकर्ता सुनिताकुमारी चौधरीका अनुसार घरमा सुरक्षित सिकाइ कार्यक्रम करिब ६ महिनादेखि चल्दै आएको छ । खेलको माध्यमबाट बच्चालाई अभिप्रेरित गरी शिक्षण सिकाइमा जोड दिइने गरेको छ । यो काम बच्चाका आमा आफैं गर्छन् ।

 

बच्चालाई आफू पढ्छौँ भन्ने अनुभूति गराई स्याहारकर्ता आमाहरूले घरमै बालमैत्री वातावरण निर्माण गरी शिक्षा दिने गरेको स्याहारकर्ता मनमाया कुमारी चौधरीले बताइन् ।


सामुदायिक परिचालक बबिताकुमारी चौधरीकी अनुसार संस्थाले प्रत्येक महिनाको ३ दिन नयाँ १० शिक्षण विधि अपनाई बच्चालाई कसरी पढाउनुपर्छ भन्ने विषयमा आमाहरूलाई प्रशिक्षण दिइने गरेको छ ।