close

घर बिदामा गएका शिक्षक नफर्किएपछि विद्यालयमा ताला

घर बिदामा गएका शिक्षक नफर्किएपछि विद्यालयमा ताला

Trulli
ADVERTISEMENT

उदयपुर–उदयपुरको कटारी नगरपालिका वडा नम्बर १२ बसेरीस्थित जनमुखी माध्यमिक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् । कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालय दसैँअघि एक साता खुलेर बन्द भएका थिए । दसैँ, तिहार, छठ बिदामा घर गएका शिक्षक, कर्मचारी नआएको भन्दै स्थानीय अभिभावक र जनप्रतिनिधिले विद्यालयमा ताला लगाइदिएका हुन् ।

 

कोरोनाले ६ महिना लामो बन्दपछि खुलेको विद्यालयले सात दिन पढाइ सञ्चालन गरेपछि पुनः दसैँ, तिहार, छठको बिदा दिएको थियो । चालू शैंक्षिक सत्र असारबाट सुरु भए पनि विद्यार्थीले वैशाखदेखि पढ्न नपाएका र दसैँ, तिहार, छठमा पनि लामो बिदा दिइएकामा पछि खुल्दासमेत शिक्षक नआएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको कटारी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष चन्द्रदीप पौडेलले जानकारी दिए । २०१७ मा स्थापना भएको जनमुखी माध्यमिक विद्यालय बसेरीमा १२ कक्षासम्म पढाइ हुने गरेको छ । 

 

लामो समय घर गएका विद्यालयका प्रधानाध्यापक तारणीप्रसाद चौधरीसहित ९ जना शिक्षक, कर्मचारी अहिलेसम्म हाजिर भएका छैनन् । विद्यालयमा १६ जना शिक्षक, कर्मचारी कार्यरत रहेकामा अधिकाश शिक्षक घर बिदामा गएको भेटिएपछि बाध्य भएर ताला लगाइएको वडाध्यक्ष पौडेलले बताए ।

 

विद्यालय सुधारका लागि बारम्बार छलफल गर्ने गरिएको र शैक्षिक गतिविधिलाई सुधार्न नगरपालिकासहित बसेर विभिन्न निर्णय गरिए पनि प्रअ चौधरीले कार्यान्वयन नगरेका कारण ताला लगाउनुपरेको अभिभावकको भनाइ छ । तालाबन्दीपछि विद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीको पढाइ अन्योलमा परेको छ ।