close

भौतिक पूर्वाधार अभावले पिरोलिँदै कालिका मानवज्ञान माध्यमिक विद्यालय

मुलुकभरकै उत्कृष्ट बन्यो मानवज्ञान सामुदायिक विद्यालय

भौतिक पूर्वाधार अभावले पिरोलिँदै कालिका मानवज्ञान माध्यमिक विद्यालय

मुलुकभरकै उत्कृष्ट बन्यो मानवज्ञान सामुदायिक विद्यालय

Trulli
ADVERTISEMENT

रूपन्देही– सामुदायिक विद्यालयमा मुलुककै उत्कृष्ट रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा प्रदेश र स्थानीय सरकारको सहयोग न्यून हुँदा भौतिक पूर्वाधार अभाव भएको छ ।


२०७० देखि सामुदायिक विद्यालयमा मुलुककै उत्कृष्ट रहे पनि स्थानीय सरकारको बेवास्ताले पूर्वाधार निर्माणमा पछि परेको हो । ८ हजार ३ सय १३ विद्यार्थी अध्ययनरत नेपालकै नमुना सामुदायिक विद्यालयमा पूर्वाधार समस्या बढी रहेको छ ।

 

नमुना विद्यालय बनाएपछि राज्यले सम्पूर्ण व्यवस्था गर्नुपर्ने हो तर अहिले त्यस्तो देखिएको छैन । विद्यालयमा कोठा अभाव, शिक्षकलाई तालिमका लागि बजेट अभाव रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गलामीले बताए ।


कालिका मानवज्ञान माध्यमिक विद्यालय एकीकरण भएपछि सेक्टर १ र सेक्टर २ गरी सञ्चालन हुँदै आएको छ । सेक्टर १ मा पूर्वाधार राम्रो भए पनि सेक्टर २ मा समस्या छ । पुराना संरचना भएकाले तिनलाई भत्काएर नयाँ बनाउनुपर्ने अवस्था रहेको गलामीले जानकारी दिए ।


अहिले २ सेक्टरमा ४० कोठा आवश्यक छन् । ‘हामीले पूर्वाधार नभएर विद्यार्थी भर्ना गर्न सकेका छैनौँ । बुटवल उपमहानगरभित्र रहेको नेपालकै नमुना विद्यालयमा भर्नाका बेला नगरप्रमुखले विद्यार्थी भर्ना गर्न निर्देशन दिए पनि समस्यातिर ध्यान दिएनन्’, गलामीले भने ।


नगरपालिकाले दुई शैक्षिक सत्रमा १० लाख रुपैयाँ सहयोग गरेको उनले बताए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले भने, ‘विद्यालय अब्बल छ । अझै प्रविधिमैत्री बनाउन खोजेका छाँै । आर्थिक अभाव भयो । संघीय सरकारबाट नमुना विद्यालय घोषणा भएपछि १ करोड ५० लाख सहयोग आउँथ्यो । अहिले त्यो पनि घटेर १ करोड रुपैयाँ मात्र आएको छ । प्रदेश सरकारले पूर्वाधार विकासका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, स्थानीय सरकारको ध्यानै गएन ।’

 

२ वर्षमा जम्मा ६ लाख ४० हजार रुपैयाँ मात्र विद्यालयमा सहयोग आएको उनले बताए । सेक्टर १ मा पूर्वाधार राम्रो छ तर २ मा भवन अभाव रहेको उनले बताए । ‘अहिले विद्यालयमा ४० कोठा आवश्यक छ । अब पुरानो भवनलाई विस्तार गर्न नसके भत्कने समस्या छ । ५ वर्षभित्र जसरी पनि नयाँ भवन बनाएर पुरानोलाई हटाउने योजना छ’, प्रअ थापाले भने ।


सीपमूलक अंग्रेजी माध्यमको नैतिक शिक्षा अभिभावकले चाहेकाले विद्यालयले सोहीअभियानलाई अवलम्बन गरेको उनको दाबी छ । गुरुयोजनामा स्विमिङ पुल, छात्रावास, शिक्षक आवासगृहका अतिरिक्त खेलकुदका लागि विभिन्न योजनासहित ९० करोड रुपैयाँको पञ्चवर्षीय योजना अगाडि सारिएको विद्यालयका प्रअ थापाले जानकारी दिए । ‘भौतिक पूर्वाधार नहुँदा भर्ना हुन आउने सयौँ विद्यार्थी फर्किन बाध्य थिए’, प्रअ थापाले भने, ‘कालिका मानवज्ञान मावि भएपछि भौतिक पूर्वाधार थप गर्दै विद्यार्थी संख्या पनि थपिँदै गएको छ ।’


बुटवलले शिक्षामा ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले बताए ।  नगर प्रमुख शिवराज सुवेदीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा निरन्तर ध्यान दिइँदै आएको दाबी गरे । उनले भने, ‘शिक्षामा तीन वटै तहबाट बजेट आउने गरेको छ । समन्वय गरेर अघि बढेका छौँ ।’ 

 

एसईई २०७३ मा नेपालभरिका ३० हजार सामुदायिक विद्यालयलाई पछि पार्दै कालिका मावि साधारण र प्राविधिक विद्यालयतर्फ मुलुकमै प्रथम भई राष्ट्रिय ध्वजा र सिल्ड प्राप्त गरिसकेको छ । कालिकाले ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेसनल स्कुल अवार्डसमेत पाइसकेको छ ।

 

विद्यालयमा कोठा अभाव, शिक्षकलाई तालिमका लागि बजेट अभाव भएपछि बजेट जुटाउने पहल भइरहेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।