close

शुक्लाफाँटाद्वारा बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन

शुक्लाफाँटाद्वारा बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन

Trulli
ADVERTISEMENT

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशङ्कर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपाङ्गता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा कोरोनाको सङ्क्रमण घट्दै गएपछि सञ्चालनमा ल्याइएको हो ।

 

 कोरोनाका कारण झण्डै दुई वर्ष कक्षा प्रभावित भएको थियो । कक्षामा ५ वर्ष पुरा भई १४ वर्ष ननाघेका १० जना बालबालिकालाई राखिएको छ । कक्षामा सुदूरपश्चिम प्रदेशका बैतडी, कैलाली र कञ्चनपुरका गरी तीन जिल्लाका बौद्धिक अपाङ्गता र सुस्तमनस्थीति भएका बालबालिकाको बोली, भाषा, आनीबानी र व्यवहार परिवर्तनका लागि राखिएको विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले बताए ।


 
फरक क्षमता भएका बालबालिकालाई चित्र, सङ्गीत, नृत्य, श्रव्यदृश्यमार्फत पठनपाठनको व्यवस्था मिलाइएको उनले बताए । यो कार्यसँगै बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सरसफाइमा ध्यान पु¥याउने कार्यमासमेत जोड दिँदै आएको उनले बताए ।

 

 स्रोत कक्षामा सहभागी भई पढ्दै आएका बालबालिकाको हेरचाहका लागि एक जना आया (हेरचाह गर्ने आमा) र एकजना स्रोत शिक्षकको व्यवस्था मिलाइएको छ । विद्यालयले बालबालिकाको पठनपाठनसँगै बस्नका लागि छ वटा आवासीय कक्षा कोठा, भान्सा र शौचालयको व्यवस्था मिलाएको छ । 

 

बालबालीकालाई पोशाक, शैक्षिक सामग्री, बस्नका लागि बेड, बेडसिट, सिरक, गद्दा, टुथपेष्ट, ब्रस, साबुनलगायत आवश्यक सामग्रीको व्यवस्था विद्यालयले मिलाएको छ । सशर्त अनुदान कार्यक्रममार्फत स्रोत कक्षा सञ्चालनका लागि विद्यालयलाईप्रति विद्यार्थी रु ४० हजारका दरले १० महिनाको अनुदान रकम उपलव्ध गराइँदै आएको छ । सोही खर्चमा कक्षा सञ्चालन हुने गरेको छ । 

 

‘हाललाई विद्यालयकै भवनमा स्रोत कक्षा सञ्चालन गरेका छौं’ उनले भने, ‘छात्रावास, खानेपानीसँगै घेरावारको अभाव छ । त्यसका लागि नगरपालिका र प्रदेश सरकारलाई गुहार्दै आएका छौं ।’ आयालाई  १३ हजार ४५० मासिक तलब र स्रोत शिक्षकलाई मासिक ५०० भत्ता दिने व्यवस्था गरी नियुक्त गरिएको छ । 

 

विसं २०७४ देखि सञ्चालन भएको स्रोत कक्षामा सहभागी भई उमेर पूरा भएपछि चारजना बालबालिका घर फर्किएका छन् । ‘बौद्धिक आङ्गता र सुस्तमनस्थीतिका बालबालिकालाई विद्यालयमा जुनसुकै समयमा पनि भर्ना गर्न सकिन्छ’, प्रअ जोशीले भने, ‘बौद्धिक अपाङ्गता र सुस्तमनस्थीति भएका बालबालिकालाई अभिभावकले विद्यालयमा भर्ना गर्न ल्याए भर्ना लिन्छौं । प्रचलित नियम अनुसार पाउने सबै सुविधा प्रदान गरी आनीबानी सुधारसँगै पठनपाठनको व्यवस्था हुन्छ । घरको वातावरण भन्दा राम्रो गरी स्याहारसुसार गर्छौ ।