close

७० वर्षसम्मका आमालाई पढाउँदै सैनामैनाको महिला विद्यालय

७० वर्षसम्मका आमालाई पढाउँदै सैनामैनाको महिला विद्यालय

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको सैनामैनामा महिला विद्यालय सञ्चालनमा आएको छ । मेची महाकाली बुहारी समूह एवं गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको पहल र सैनामैना नगरपालिकाको सहयोगमा वडा नम्बर ६ पटनास्थित विद्यालय बिहीबार औपचारिक कार्यक्रम सञ्चालन भएको घोषणा गरिएको हो ।


विभिन्न कारणले शिक्षाबाट वञ्चित वा औपचारिक अध्ययन पूरा नभएका महिलाका लागि स्थापना गरिएको विद्यालयको लुम्बिनी प्रदेशका सांसद भूमिश्वर ढकाल, नगरप्रमुख चित्रबहादुर केसीलगायतले संयुक्त रूपमा उद्घाटन गरे ।


कार्यक्रममा सांसद ढकालले शिक्षा चौतर्फी विकासको आधार रहेको बताउँदै सैनामैनाले गरेको प्रयास सराहनीय भएको जानकारी दिए । उनले भने, ‘महिला सशक्तीकरणका लागि शिक्षा अत्यावश्यक छ । संविधानले राज्यका सबै संयन्त्र र निकायमा महिला सहभागिता सुनिश्चितता गरे पनि उपस्थिति भने न्यून छ । महिलाको सहभागिता बढाउन र चौतर्फी विकासका लागि शिक्षा अनिवार्य छ ।’

 

सैनामैना नगरप्रमुख केसीले शिक्षाका लागि नगरले विभिन्न योजनाका साथ काम गरिरहेको जानकारी दिए । नगरका १० विद्यालय मर्ज गरी उचित व्यवस्थापन गरिएको उनको भनाइ छ । उनले भने, ‘हामी शिक्षाका लागि निरन्तर प्रयासरत छौँ । विद्यालय व्यवस्थित बनाई गुणस्तरीय शिक्षाका विद्यालय मर्जदेखि पूर्वाधार विकास र प्रविधिको व्यवस्थापनसँगै सचेतनाका कार्यक्रम पनि गर्दै आएका छौँ ।’


महिला शिक्षित भए घरपरिवारसँगै नगर र राज्य नै शिक्षित हुने ठानेर निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्दै महिला विद्यालय सञ्चालनमा ल्याइएको उनले बताए । यसमा मेची महाकाली संयुक्त बुहारी आवाजले सञ्चालनको जिम्मेवारी निर्वाह गर्नेछ भने नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।

 

सुरुमा केही कठिनाइ भए पनि विस्तारै आवश्यक सबै व्यवस्था गरिने नगरप्रमुख केसीको भनाइ छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, पर्रोह बहुमुुखी क्याम्पसका अध्यक्ष खुसीराम चौधरी, साधना महिला विद्यालय बुटवलकी अध्यक्ष सावित्रा अर्याललगायतले महिला शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

 

गोरखनाथ सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष लता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय आमा समूह, शैक्षिक व्यक्तित्वलगायत विभिन्न निकायका प्रतिनिधि सहभागी थिए । हाललाई महिला विद्यालयमा करिब ७० वर्षसम्मका २५ बढी महिलाले अध्ययन गर्नेछन् । महिला लक्षित सैनामैनामा सञ्चालित विद्यालय यो जिल्लाको दोस्रो हो । १५ वर्षदेखि बुटवलमा साधना महिला विद्यालय सञ्चालन हुुँदै आएको छ ।