close

शिक्षकलाई सूर्यविनायकको चेतावनी : सात दिनभित्र हाजिर नगरे मंसिरको तलब चट्

शिक्षकलाई सूर्यविनायकको चेतावनी : सात दिनभित्र हाजिर नगरे मंसिरको तलब चट्

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले दरबन्दी मिलानका क्रममा सरुवा भएका शिक्षकलाई एक साताभित्र सम्बन्धित विद्यालयमा हाजिरी गर्न आदेश दिएको छ । नगरपालिकाले सूचना प्रकाशित गरी नगरभित्रका शिक्षकलाई दरबन्दी मिलानअनुरूप विद्यालयमा हाजिरी गर्न आदेश दिएको हो । 

 

नगरपालिकाले गरेको दरबन्दी मिलानअनुरूप सम्बन्धित विद्यालयबाट हाजिरी नगरे नगरले मंसिरको पारिश्रमिक नदिइने बताएको छ । पालिकाले केही दिनअघि मात्रै दरबन्दी मिलानका क्रममा शिक्षकको सरुवा गरेको थियो । तर, पालिकाले गरेको दरबन्दी मिलान नियम विपरीत रहेको भन्दै शिक्षकले विरोध गर्दै आएका छन् ।


नगरपालिकाको शिक्षा नियमावली, २०७५ ५० को परिच्छेदको बुँदा नम्बर २ मा शिक्षक सरुवासम्बन्धी व्यवस्थामा ‘शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गर्ने व्यवस्था गरे पनि पालिकाले मध्यावधिमा आएर शिक्षक सरुवा गरेको हो ।

 

उक्त परिच्छेदको बुँदा नम्बर ५ मा ‘स्थायी नियुक्ति भएको एक वर्ष नपुगेका शिक्षक र अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेका शिक्षकलाई एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरिने छैन’ भन्ने वाक्यांश उल्लेख छ । 

 

तर, पालिकाले नगरको शिक्षा सुधारका लागि राम्रा शिक्षकलाई अन्य विद्यालयमा सरुवा गरिएको बताएको छ । सोही निर्णयअनुरूप सम्बन्धित विद्यालयबाट हाजिरी गर्न पालिकाले निर्देशन गरेको हो । 

 

सूचना प्रकाशित भएको सात दिनभित्र सम्बन्धित विद्यालयबाट हाजिरी गरी सोको जानकारी नगरपालिकामा दिन आग्रह गरिएको छ । सात दिनभित्र हाजिरी भएको सूचना नआए सम्बन्धित शिक्षकलाई पालिकाले तलब नदिने सूचनामा उल्लेख छ ।