close

राजविराजमा कृषि विश्वविद्यालय उद्घाटन

राजविराजमा कृषि विश्वविद्यालय उद्घाटन

Trulli
ADVERTISEMENT

सप्तरी–प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय कार्यालय स्थापना गरेको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमबार विश्वविद्यालयको कार्यालय उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष यादवले कृषि शिक्षा महत्त्वपूर्ण रहेको बताए । ‘कृषिमा धेरै क्षेत्र छन् । यसको अध्ययन, अध्यापन सुरु भए यहीँबाट धेरै कृषिविज्ञ उत्पादन गरेर कृषिलाई राम्रो बनाउन सकिन्छ,’ उनले भने ।


कृषि विश्वविद्यालयलाई अगाडि बढाउन सबैको सहयोग आवश्यक पर्ने र भवन निर्माण यसै वर्षदेखि सुरु गर्न प्रदेश सरकारसँग उनको आग्रह छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको गौरवको रूपमा विश्वविद्यालय स्थापना हुने बताए । प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने उद्देश्यले विश्वविद्यालयको स्थापना अघि बढाइएको उनले जानकारी दिए ।

 

चाँडै वीरगञ्जमा पनि विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गरिने उनले बताए । समय अभावका कारण अध्यादेशमार्फत दुवै विश्वविद्यालयको काम अघि बढाइएको उनको भनाइ छ । विश्वविद्यालयको काम अघि बढाउन राजविराजस्थित दलित छात्रावास भवनमा कार्यालय राखिएको छ । ‘तत्काल काम अगाडि बढाउन यहाँ कार्यालय राखिएको छ । चाँडै आफ्नै भवनमा कार्यालय स्थापना हुन्छ,’ प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले भने ।


कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साहले यो विश्वविद्यालयको विकासका लागि प्रदेश सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त वैद्यनाथ महतोलाई कुलपतिसमेत रहेका मुख्यमन्त्री राउतले सपथ गराए ।