close

विद्यालय सुधारको माग गर्दै राजदेवी नगरपालिकालाई बुझाइयो ज्ञापन

विद्यालय सुधारको माग गर्दै राजदेवी नगरपालिकालाई बुझाइयो ज्ञापन

Trulli
ADVERTISEMENT

रौतहट–रौतहटको जनता माध्यमिक विद्यालय सुधार संघर्ष समितिले राजदेवी नगरपालिकालाई विद्यालय सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । पालिकाका प्रशासकीय अधिकृत सुबोध साहलाई ज्ञापनपत्र बुझाइएको हो । राजदेवी नगरपालिका वडा नम्बर ४ मा रहेको जनता उच्च माविका विद्यार्थीले आइतबारदेखि विद्यालयमा तालाबन्दीसहित प्रदर्शन गरिरहेका छन् । 

 

विद्यालयले नियम विपरीत पैसा उठाएको भन्दै विद्यार्थीले वडा कार्यालय र विद्यालयमा नाराबाजीसमेत गरेका थिए । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि वहानामा शुल्क लिन नपाइने व्यवस्था छ । तर, जनता उच्च माविले विद्यार्थीबाट गैरकानुनी रूपमा शुल्क उठाउँदै आएको छ । विद्यार्थीले ११ बुँदे माग पूरा गर्न नगरपालिकालाई चेतावनी दिएका छन् ।

 

विद्यालयले विद्यार्थीबाट विभिन्न वहानामा शुल्क उठाउने गरेको अभिभावकको गुनासो छ ।  जनता उच्चमाविका प्रधानाध्यापक प्रभाष ठाकुरले भने विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थीसँग कम शुल्क लिएर अध्ययन गराइँदै आएको बताए ।


प्रधानाध्यापक ठाकुरले भने, ‘केही असन्तुष्ट व्यक्तिले विद्यालयको विषयलाई लिएर राजनीति गरिरहेका छन् ।’ विद्यालयको बिजुली बिललगायत केही सहायक कर्मचारीलाई भत्ता उपलब्ध गराउन विद्यार्थीबाट मात्र १०० रुपैयाँ लिइँदै आएको उनले जानकारी दिए ।

 

आइतबार विद्यार्थी र अभिभावकले विद्यालयमा ताला लगाएका थिए । ‘शिक्षक आउँछन्, बाहिरबाटै सादा कागजमा आफ्नो हाजिरी जनाई फर्किन्छन्’, विद्यार्थीले भने ।  विद्यालय सुधार संघर्ष समितिले १३ बुँदे विभिन्न मागसहित राजदेवी नगरपालिकालाई ज्ञापनपत्र बुझाएको समिति संयोजक ज्वाला रणवीरले जानकारी दिए ।