close

बूढानीलकण्ठ विद्यालय : जहाँ विद्यार्थीलाई सिकाइन्छ कृषि उद्यम 

बूढानीलकण्ठ विद्यालय : जहाँ विद्यार्थीलाई सिकाइन्छ कृषि उद्यम 

Trulli
ADVERTISEMENT

काठमाडौं–हरियाली साग । बोटमा लटरम्म गोलभेडा, स्याउ, आरु, अलैँचीका बोट पनि । कुनै कृषि फार्ममा गएजस्तो महसुस हुने । राती परेको तुषारो बोटमा सेताम्मे । केही खेत खनेर उब्जनीका लागि तयारी अवस्थामा थिए । विभिन्न मौसमका बिरुवा लगाउन केही खाल्डो खनिएका छन् ।
यो कुनै व्यक्तिले सञ्चालन गरेको फार्म नभएर सार्वजनिक विद्यालयले गरेको कर्म हो । 


निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षामा अगाडि बढिरहेको छ, काठमाडौंको बूढानीलकण्ठ माध्यमिक विद्यालय । ५ देखि १२ कक्षा सञ्चालन गरेको विद्यालयमा १ हजार १ सय ३५ विद्यार्थी छन् । उनीहरू पनि विद्यालयको करेसाबारीमै काम गर्छन् । सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागू हुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरे ।


विद्यार्थी र शिक्षकका लागि होस्टेल व्यवस्था भएको विद्यालयमा आईटी, विज्ञान, कृषिलगायत विषयमा प्रयोगात्मकसहित अध्ययन हुन्छ । ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । देशकै उत्कृष्ट नतिजा ल्याउने दाबी गरेको विद्यालयले डा. महाीवर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोबट बनाउने काममा अनुसन्धान गरिरहेको छ ।


बिहीबार विद्यालयको निरीक्षण गर्न गएका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि सरकारको पहिलो प्राथमिकता रहेको बताए । विद्यालयलाई निर्वाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्न मन्त्रीले सुझाव दिए । ‘विद्यालयको शैक्षिक गतिविधि राम्रो रहेछ,’ उनले भने, ‘उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुस् ।’


मन्त्री पौडेलले विद्यार्थीको पढाइका विषयमा पनि जिज्ञासा राखे । बूढानीलकण्ठका विद्यार्थीले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिएका छन्, त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ,’ उनले भने । सहरमा जमिन अभाव भएकाले जमिनलाई व्यवस्थित गरी सिक्दै, कमाउँदै कार्यक्रमलाई उदाहरणका रूपमा देखाउन मन्त्रीले पौडेलले विद्यालयलाई सुझाव दिए ।

 

विद्यालयका प्रधानाध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको जानकारी दिए ।  ‘११३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउनुपर्दैन,’ विद्यालयका प्रधानाध्यापक आचार्यले भने, ‘तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भयौँ ।’ उनका अनुसार विद्यालयले स्थानीय बिरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्ताले फिल्डमै आएर अवलोकन गर्न सक्नेछन् । 


‘विद्यार्थीलाई बिरुवा रोप्ने र उब्जनी कसरी हुन्छ भन्ने सिकाउँछौँ । बिरुवा दिएर घर पठाउँछौँ,’ प्रअ आचार्यले भने । कक्षा ५ देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप सिकाउने गरिन्छ । निरीक्षणमा पुगेका शिक्षामन्त्री पौडेलसमक्ष विद्यालयको विज्ञान ल्याब बनाइदिन विद्यार्थीले आग्रह गरे । विद्यालयमा उत्पादित साग तथा गोलभेडा शिक्षामन्त्रीलाई विद्यार्थीले ‘कोसेलीको रूपमा दिए ।