close

तिलोत्तमाका ५१ किशोरीले पाए साइकल 

तिलोत्तमाका ५१ किशोरीले पाए साइकल 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकाका ५१ किशोरीलाई साइकल वितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न, दलित, पिछडिएको वर्गका ५१ किशोरीलाई वडा कार्यालयको सिफारिसका आधारमा शुक्रबार साइकल हस्तान्तरण गरिएको हो । 


ग्रीन–वे नेपाल अभियानअन्तर्गत तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, एनसेल, कान्तिपुर मिडिया ग्रुप, साइकल सिटी बुटवल र साइकल सिटी नेटवर्क नेपालको सहकार्यमा किशोरीलाई साइकलवितरण गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेले स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियान प्रवद्र्धन गर्न किशोरीलाई साइकल वितरण गरिएको बताए ।  साइकल वितरणपछि किशोरीलाई विद्यालय आउजाउ गर्न सहज हुने र त्यसले उनीहरूको अध्ययनमा सहयोग पुग्ने नगरप्रमुख घिमिरेको विश्वास छ । 

 

तिलोत्तमालाई वातावरणमैत्री नगरको रूपमा विकास गरिएको बताउँदै उनले साइकल चलाउने संस्कारको विकासका लागि मोबाइल एपसमेत सञ्चालनमा ल्याइने जानकारी दिए । तिलोत्तमाले गत वर्ष १ सय बढी श्रमिक महिलालाई साइकल वितरण गरेको थियो ।


कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका लुम्बिनी–गण्डकी प्रमुख सुदीप अर्यालले सहरी दिगो विकास र वातावरण संरक्षणका साइकल प्रवद्र्धन कार्यक्रम सञ्चालनगरिएको जानकारी दिए ।

 

साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले साइकल प्रयोगकर्ता बढाउन सके बढ्दो वायु प्रदूषण न्यूनीकरणमा टेवा पुग्ने र त्यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे ।  एनसेलका प्रतिनिधि स्वस्तिक घिमिरेले साइकल चलाउने अभियानले सहरको वातावरण संरक्षण गर्ने उल्लेख गरे ।नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा साइकल व्यवसायी संघ रूपन्देही, साइकल सिटी बुटवललगायत संघ–संस्थाका प्रतिनिधिले सहभागी थिए । कार्यक्रमपछि नगरप्रमुख घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीलगायतका जनप्रतिनिधि तथा साइकल पाएका किशोरीले साइकल  र्‍यालीसमेत गरे ।