close

विद्यालयको शिक्षक आवेदन शुल्क ५ हजार !

विद्यालयको शिक्षक आवेदन शुल्क ५ हजार !

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ कुडारीस्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयले शिक्षक आवेदन शुल्क मात्रै ५ हजार रुपैयाँ राखेर विज्ञापन खुलाएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा रिक्त रहेका लेखा व्यवस्थापनसहित ६ शिक्षक पदको १५ दिने अवधि राखेर विज्ञापन खुलाएको हो ।

 

विद्यालयले प्राविधिक धार सहायक प्रशिक्षक र निमावि तहको शिक्षकका लागि ४÷४ हजार तथा मावि शिक्षकका लागि ५÷५ हजार रुपैयाँ आवेदन दस्तुर तोकेको छ । यद्यपि बुधबार मात्र शिक्षक सेवा आयोगले खोलेको मावि तहको शिक्षकको विज्ञापनमा आवेदन दस्तुर १ हजार रुपैयाँ मात्र छ ।


उक्त विद्यालयले शिक्षक पदका लागि गरिएको विज्ञापनमा आवेदन दस्तुर शिक्षक सेवा आयोग विपरीत तोकिएको शिक्षा मन्त्रालयका शाखा अधिकृत जीवनबहादुर भण्डारीले बताए । ‘शिक्षक सेवा आयोगले प्रावि तहको ५ सय, निमाविका लागि ८ सय र माविका लागि १ हजार रुपैयाँ मात्र लिन्छ’, शाखा अधिकृत भण्डारीले भने, ‘स्थानीय सरकार कता छ ? यो हदै भयो ।’


शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले उक्त विद्यालयले तोकेको शुल्क मापदण्ड विपरीत भएको बताए । ‘डेढदेखि दुई वर्ष शिक्षक पद रिक्त हुँदा पनि त्यो विद्यालय समन्वय इकाइमा अनुमति लिन आएन’, प्रमुख भण्डारीले भने, ‘उक्त विद्यालयले यसअघि अनुमति नलिएर नियुक्त गरेका बिएस्सी एजी र तल्लो तहका शिक्षकको जागिर धरापमा छ ।’


सरस्वती प्राविधिक माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल गिरीले प्रधानाध्यापकको सल्लाहअनुसार आवेदन दस्तुर ५ हजार र ४ हजार रुपैयाँ राख्ने निर्णय गरिएको जानकारी दिए । उनले यस विषयमा प्रधानाध्यापकसँग बसेर पुनर्विचार गर्ने प्रतिक्रिया दिए । 

 

प्रधानाध्यापक रामविलास यादवले आफूले नभई विद्यालय व्यवस्थापन समिति बसेर निर्णय गरेको दाबी गरे । ‘विज्ञापन भइसक्यो । अब के गर्ने ?’ प्रधानाध्यापक यादवले भने, ‘सामाजिक सञ्जालमा गइसकेकाले त्यसैअनुसार परीक्षा लिने होला ।’ विद्यालयले १५ दिनको अवधि राखेर आवेदन दर्ता समय ९ पुससम्म राखेको छ ।