close

विद्यार्थीलाई निःशुल्क रामायण पढाउँदै गोकर्णेश्वर

विद्यार्थीलाई निःशुल्क रामायण पढाउँदै गोकर्णेश्वर

Trulli
ADVERTISEMENT

काठमाडौं–गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको हो ।

 

२०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गरेका हुन् ।

 

यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा थापाले नगरपालिकाको वडा नम्बर ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिए ।

 

हजुरबाले लेखेको पुस्तक आफूले ९ वर्षको उमेरमा पढेको उल्लेख गर्दै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाउन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको सुनाए ।


कार्यक्रममा यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, वडाध्यक्ष श्रेष्ठलगायतले सानै उमेरदेखि बालबालिकामा नैतिक ज्ञानको विकास गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।

 

पहिलो चरणमा नगरपालिकाका सबै विद्यालयमा पाँच–पाँच प्रति पुस्तक दिएर पुस्तकालयमा राखिनेछ । अध्ययन गर्न चाहने विद्यार्थीले ती पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ ।


रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको भानु प्रतिष्ठानका अध्यक्ष प्राडा. व्रतराज आचार्यले बताए । बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी रहेको उनको भनाइ छ ।

 

नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन् । नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि कोरोनाकालपछि यो पुस्तकको पढाइ नै बन्द भएको विद्यार्थीको गुनासो छ । नगरपालिकाले देशमै पहिलो पटक स्थानीय पाठ्यक्रम लागू गरेको दाबी गरेको थियो ।