close

मेडिकल कलेज माग गर्दै काठमाडौं हिँडे नगरप्रमुख 

मेडिकल कलेज माग गर्दै काठमाडौं हिँडे नगरप्रमुख 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुर सदरमुकाम गाईघाटमा मेडिकल कलेज सञ्चालन गर्न माग गर्दै जनप्रतिनिधिको टोली डेलिगेसनमा गएको छ । उदयपुरमा मेडिकल कलेज खोल्न ३ वर्ष अघिदेखि भइरहेको प्रयास सफल पार्न त्रियुगा नगरप्रमुख बलदेव चौधरी, चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईसहितको १७ सदस्यीय टोली काठमाडौं गएको हो । 

 

३ वर्षअघि विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोली गत ०७५ मै उदयपुर आएर मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययन गर्दै विभिन्न ठाउँको स्थलगत अध्ययन गरेर फर्किएको थियो । नगर प्रमुख चौधरीको नेतृत्वमा २३ पुसमा काठमाडौं गएको प्रतिनिधिमण्डलले शनिबार उदयपुर १ का सांसद समेत रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र विभिन्न मन्त्रालयका सरोकारवालासँग भेटघाट र छलफल थालेको छ ।

 

नगरप्रमुख चौधरीले शनिबारै डा. खड्का निवासमा सर्वपक्षीय सहभागितामा बैठक बसी गाईघाटमा मेडिकल कलेज खोल्न आवश्यक जग्गा व्यवस्थापनदेखि बजेट माग गर्नेसम्मको विषयमा छलफल गरेको मन्त्री खड्काको सचिवालयले जानकारी दिएको छ ।

 

मन्त्री खड्कासँगको छलफलमा त्रियुगा र चौदण्डीगढी नगरपालिकामा मुख्य समस्याको रूपमा रहेको ऐलानी र अव्यवस्थित भूमि व्यवस्थापन गर्ने गरी काम अघि बढाउने सहमति भएको नगरप्रमुख चौधरीले बताए । 

 

त्यसका लागि मन्त्रालयबाट आवश्यक बजेट माग गर्ने र बाँकी नगरपालिकाले बेहोर्ने सहमति भएको छ । नगरपालिकाका विभिन्न वडामा आवश्यक पुल, सडक, खानेपानी र विद्युतीकरणलगायत विषयमा छलफल गरी योजना निर्माण र सञ्चालनका लागि बजेट माग गर्ने निर्णय भएको छ ।

 

यसै वर्ष मेडिकल कलेज निर्माण गर्ने गरी जग्गा टुंगो लगाउँदै संघीय सरकारमार्फत आवश्यक बजेट माग गर्ने निर्णय मन्त्री खड्कासँगको बैठकले गरेको जानकारी उनले दिए । प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र विभागीय मन्त्रीलाई भेट्ने कार्यतालिका छ । 


त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसहित प्रतिनिधिमण्डलमा १६ नम्बर वडाध्यक्ष राई, १४, १३, १०, ५ र ३ नम्बर वडाध्यक्ष क्रमशः कुरुङ राई, पशुपति चौधरी, प्रकाशकुमार खड्का, उद्धवसिंह थापा र अवधेशप्रसाद चौधरी, त्रियुगा क्याम्पस स्ववियु सभापति रोशन कार्की, चार्टर एकाउन्टेन्ट केशव बुढाथोकी र त्रियुगा नगरपालिकाका नायब सुब्बा गुरु ढकाललगायत छन् ।

 

मेडिकल कलेज खोल्न अध्ययन गर्न ०७५ माघ तेस्रो साता स्वास्थ्य मन्त्रालयको टोली आएको थियो । मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार खडा गर्न चाहिने जमिनको सम्भाव्यता अध्ययन गर्न आएको टोलीले गाईघाट आसपास विभिन्न ५ ठाउँको स्थलगत अध्ययन सकेपछि स्थानीय सरकारको राय लिन सार्वजनिक सुनुवाइ तथा अन्तरक्रियासमेत गरेको थियो । 

 

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका तत्कालीन प्राध्यापक डा. गोविन्द केसीको पटक–पटकको अनशनपछि संसद्बाट पारित ‘चिकित्सा विधेयक’ कार्यान्वयनको प्रारम्भमै उपत्यका बाहिर मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने सहमतिअनुसार अध्ययन टोली उदयपुर आएको थियो ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित प्राध्यापक मधुसूदन सुवेदी संयोजकत्वको सम्भाव्यता अध्ययन कार्यदल टोलीमा स्वास्थ्य मन्त्रालयका उपसचिव तथा कार्यदल सदस्य सचिव विष्णुप्रसाद मिश्र, विश्वविद्यालय अनुदान आयोगकका सदस्य विनोद भट्टराई सहभागी थिए । 

 

टोलीले उबेला त्रियुगा नगरपालिका वडा नम्बर ३ को जोरपोखरी सामुदायिक वनमा पर्ने चाप क्षेत्र, ४ नम्बर वडामा पर्ने जनज्योति जोरपोखरी सामुदायिक वनकै फर्सेट र वनभोजस्थल, ८ नम्बर वडाको उत्तराही टोल–राजाबास क्षेत्र, १२ को विशनपुर–लक्ष्मीपुर क्षेत्र र १३ को भातिखर्क–बहेडुवा क्षेत्र अवलोकन गरेको थियो । 

 

कलेज खोल्न न्यूनतम २५ देखि ३५ बिघा जमिन चाहिने हुनाले फराकिलो ठाउँ देखाइएको थियो । खुला र प्रशस्त जमिन, पानीको स्रोत, मुख्य सडकसँग नजिक, बजारभन्दा टाढा, जनसंख्या, स्थानीयको स्वास्थ्य अवस्था, बिरामीको सम्भावित चापलगायत सूचक पनि कलेज खोल्न आवश्यक मापदण्ड तोकिएको छ । 

गाईघाटमा ५० शय्याको उदयपुर जिल्ला अस्पताल, सामुदायिक आँखा उपचार केन्द्र, सामुदायिक कान उपचार केन्द्र एवं निजी लगानीमा २५ शय्याको रौता र १५ शय्याका त्रियुगा अस्पताल सञ्चालित छन् । 

 

छिमेकी चौदण्डीगढी नगरपालिकामा १५ शय्याको नगर अस्पताल, ४० शय्याको कोभिड अस्पताल छ । कटारी नगरपालिकामा २५ शय्याको कटारी अस्पताल सञ्चालनमा छ ।