close

कोरोना संक्रमण बढेपछि महालक्ष्मी नगरका विद्यालयमा भौतिक पठनपाठन बन्द

कोरोना संक्रमण बढेपछि महालक्ष्मी नगरका विद्यालयमा भौतिक पठनपाठन बन्द

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना महामारीको संक्रमण रोकथामका लागि नगर क्षेत्रका विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्म नगर क्षेत्रका विद्यालयमा भौतिक उपस्थितिमा हुने पढाइ बन्द गर्ने निर्णय गरेको हो ।

 

नगर क्षेत्रका सरकारी कार्यालयका कर्मचारी तथा स्थानीयमा कोरोनाको संक्रमण देखिने क्रम बढेकाले विद्यार्थीलाई भौतिक रूपमा उपस्थित भई विद्यार्थी भेला पठनपाठन गराउने कार्य बन्द गर्ने निर्णय भएको नगरप्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

 

उनका अनुसार यो अवधिमा विद्यालयको प्रशासनिक काम भने रोकिने छैन । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्थाबमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गरिनेछ ।

 

बैठकले बालबालिका, शिक्षक, कर्मचारी तथा अभिभावकमा कोरोनाको लक्षण देखिए वा शंका लागे त्यस्ता व्यक्तिलाई कोरोना जाँचका लागि स्वास्थ्य संस्था पठाउने, होम आइसोलेसनमा बस्न लगाउने र नगरपालिका अथवा नजिकको स्वास्थ्य केन्द्रमा त्यसको जानकारी गराउन पनि नगरबासीमा आग्रह गरेको छ ।

 

कोरोना खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी र १८ वर्ष उमेर समूहभन्दा माथिका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कोरोनाको खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजीकरण गरिने भएको छ ।

 

६ माघमा नगरमा प्रधानाध्यापकको बैठक सञ्चालन हुने भनेर पत्राचार गरिए पनि अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ । साथै, सबै शिक्षण संस्थाहरूले अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा वार्षिकोत्सवजस्ता सार्वजनिक समारोहका कार्यक्रम सञ्चालन नगर्न बैठकले आग्रह गरेको छ ।