close

शिक्षक अस्पताल निर्माण : चितवन उपयुक्त रहेको समितिको निष्कर्ष

शिक्षक अस्पताल निर्माण : चितवन उपयुक्त रहेको समितिको निष्कर्ष

Trulli
ADVERTISEMENT

काठमाडौं–शिक्षक अस्पताल भवन निर्माणको पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । 

 

समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका वडा नम्बर १५ भगवानपुरमा शिक्षक अस्पताल निर्माणका लागि उपयुक्त स्थान रहेको निष्कर्ष निकालेको हो । 

 

समितिले भरतपुर महानगर वडा नम्बर १५, भगवानपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगाती, सूर्यविनायक नगरपालिका वडा नम्बर ४ गुन्डु र मकवानपुरको थाहा नगरपालिका–वडा नम्बर १० चित्लाङमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । 

 

समितिले भरतपुर महानगरपालिका वडा नम्बर १५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ बिघा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

समिति संयोजक डा. विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्न जग्गा सम्याउने, पर्खाल लगाउनेजस्ता साइट डेभलपमेन्ट कार्यमा किफायती हुने देखिएको
छ । 

 

संघीय शिक्षक अस्पतालका लागि हाल ३०० शय्या क्षमताको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउन सरकारबाट स्वीकृत मापदण्डबमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन, २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोकेबमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने निष्कर्षसमेत समितिले निकालेको छ । 

 

प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने बताए । ‘समितिले दिएका प्रस्तावित जग्गाको विषयमा थप अध्ययन हुन्छ,’ मन्त्री पौडेलले भने, ‘अध्ययनलगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजान्छु ।’

 

अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट व्यवस्था हुनेछ ।  शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिमा डा. चालिसेको संयोजकत्वमा २२ कात्तिकमा ७ सदस्यीय समिति गठन भएको थियो ।