close

निजी विद्यालयलाई काठमाडौं महानगरको चेतावनी

निजी विद्यालयलाई काठमाडौं महानगरको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिले कोरोना महामारी बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको पाइएपछि कारबाहीको चेतावनी दिएको छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोनाको तेस्रो लहर तीव्र रूपमा बढिरहेको भन्दै सरकारले गत २७ पुसदेखि सबै विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो । सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरका वडा नम्बर १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेको बताइएको छ ।

 

वडा नम्बर १५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ । त्यस्तै, घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेको बताइएको छ ।

 

महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले जारी गरेको निर्देशनविपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिए । सुवेदीले भने, ‘महामारी नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने समय निर्देशनविपरीत शुल्क लिने बहानामा विद्यालय सञ्चालन गर्नु दण्डनीय छ ।’ 

 

अहिले पनि सबै विद्यार्थीमा खोपको पहुँच पुगेको छैन । १२ वर्ष उमेर पुगेका विद्यार्थीले खोप लगाए पनि अझै धेरैले खोप लगाउन बाँकी छ । ‘महामारी बढिरहेको समय विद्यालय खोल्नु घातक छ, यो तत्काल रोक्नुपर्छ, अन्यथा कडा कारबाही हुन्छ’, सुवेदीले भने, ‘सरकारले भौतिक रूपमा मात्रै विद्यालय सञ्चालन नगर्न भनेको हो, यसअघिझैँ अनलाइनका माध्यमबाट विद्यालय सञ्चालन गर्न सकिन्छ । 

 

अहिले काठमाडौं उपत्यका महामारीको केन्द्र बनेको छ । यहाँ दैनिक ७ हजार संक्रमित देखिन थालेका छन् । महामारी नियन्त्रण गर्न भन्दै लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगन गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोर–बिजोर प्रणाली लागू गरिसकिएको छ । पछिल्ला केही दिनयता देशभर दैनिक १२ हजार बढी कारोना संक्रमित थपिइरहेका छन् ।