close

शिक्षामन्त्रीले मागे निजी विद्यालयसँग सुझाव

शिक्षामन्त्रीले मागे निजी विद्यालयसँग सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयका पदाधिकारीसँग सुझाव लिएका छन् । बुधबार र बिहीबार मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका हुन् । 


सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरे । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै २३ माघदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 


प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी स्कुलले गरेका राम्रा कामको मूल्यांकन सरकारले गर्नुपर्ने बताए । उनले सरकारले विद्यार्थीलाई खोप दिने भने पनि शिक्षक, कर्मचारीलाई बुस्टर डोज दिनेबारे गम्भीर नभएको गुनासो गरे ।

 

देशका सबै विद्यालय बन्द गर्नुका साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालन वातावरण गराउन प्याब्सनले माग गरेको छ । यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले सहुलियपूर्ण कर्जामा छुटको व्यवस्था माग गरेको छ । ‘स्कुल चलाउन हामीले बैंकबाट लोन लिएका छौँ’, एसोसिएसन अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘गत वर्ष कर्जामा ५ प्रतिशत छुट भएको थियो । यो वर्ष पनि छुटका लागि पहल गरिदिनुप¥यो ।’


संक्रामक रोग ऐन, २०२० ले गृह र जिल्ला प्रशासनलाई मात्रै चिनेको बताउँदै ऐन संशोधन गरी समयानुकूल गराउन माग गरेको छ । छलफलमा मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए । मन्त्री पौडेलले सीसीएमसीसीको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने जानकारी दिए । पछिल्लो समय मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका विषयमा विश्वविद्यालय, निजी शैक्षिक संस्था र शिक्षाविद्सँग सुझाव लिइरहेका छन् ।