close

राइनास बहुप्राविधिक शिक्षालय भवन बन्दै

राइनास बहुप्राविधिक शिक्षालय भवन बन्दै

Trulli
ADVERTISEMENT

लमजुङ–संघीय सरकारको लगानीमा राइनास बहुप्राविधिक शिक्षालयको भवन निर्माण अघि बढेको छ । लमजुङको राइनास नगरपालिका–८ कुसुण्डेचौरमा सरकारको रु चार करोड ३३ लाखमा ३२ कोठे भवन निर्माण हुन लागेको शिक्षालयका प्रमुख ईश्वरीचन्द्र देवकोटाले बताए । उनले भने, ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाममा रहेको २३ रोपनी जग्गा, स्थानीयबाट उपलब्ध आठ रोपनी, राइनास नगरपालिकाले दिएको दुई रोपनी र वीरभक्ति माध्यमिक विद्यालयले भोगचलनका लागि दिएको २३ रोपनी गरी ५६ रोपनी जग्गामा भवनलगायत संरचना निर्माण हुन लागेको छ ।’ सिटिइभिटीको आङ्गिक शिक्षालयका रुपमा रहेको यस बहुप्राविधिक शिक्षालय भवन निर्माण पृथ्वीबेँसी जेभी काठमाडौँले जिम्मा लिएको छ । 

 

भवन निर्माणमा एक वर्षको सम्झौता रहेकाले आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताइएको छ । राइनास प्राविधिक शिक्षालयले २०७७ असोज १५ गतेदेखि प्रशिक्षण सुरु गरेको थियो । बहुप्राविधिक शिक्षालयको भवन निर्माणपछि प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहज हुने भएको छ । प्रतिविद्यार्थीले रु ५० हजारमा अध्ययन गर्न पाउने भएका छन् । 

 

त्यस्तै, रु पाँच हजार मात्र धरौटी राखे पुग्ने बताइएको छ । गरिब तथा किसान वर्गको छोराछोरीलाई लक्षित गरी शिक्षालयले अध्यापन गराउँदै आएको देवकोटाको भनाइ छ । प्राविधिक जनशक्ति निर्माण गर्ने र आयआर्जनमा जोड्ने उद्देश्यसहित पठनपाठन भइरहेको उक्त शिक्षालयले जनाएको छ । 

 

यतिबेला भवन अभावमा वीरभक्ति माध्यमिक विद्यालयको भवनमा राखेर अध्ययन गराउँदै आएकामा आफ्नै भवन निर्माणपश्चात् सहज हुने बताइएको छ । देशभरका १३८ जना विद्यार्थी उक्त शिक्षालयमा तीनवर्षे प्रमाणपत्र तहको वन विज्ञान ९रेन्जर० र आइएसस्सी एजी ९बाली विज्ञान० पढिरहेका छन् । उक्त शिक्षालयमा हाल १२ जना प्रशिक्षक रहेका छन् । 

 

शिक्षालयले ‘सिक, कमाऊ र तिर’ को नीतिबाट विद्यार्थीलाई अघि बढाइरहेको शिक्षालय प्रमुख देवकोटाले भनाइ छ । शिक्षालयले  थप व्यवस्थापनका लागि स्थानीय महादेव सामुदायिक वनसँग भोगाधिकारका लागि ८० रोपनी जग्गाको सम्झौता गरेको छ । यसको प्रक्रिया मन्त्रालयमा पुगेको बताइएको छ । हाल नर्सरी, ग्रिनहाउस, टनेलको व्यवस्थापन गरेकाले विद्यार्थीले आफैँ काम गरेर कमाउन सक्ने उक्त शिक्षालयले जनाएको छ । 

 

राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले वर्तमान समयमा सीपमूलक र रोजगारमूलक शिक्षाको आवश्यकता रहेको बताए । प्राविधिक शिक्षाले सीपसँगै रोजगारको अवसर दिने भएकाले प्राविधिक शिक्षाको महत्व रहेको उनको भनाइ छ ।