close

काठमाडौं विश्वविद्यालयसँग ललितपुर महानगरको सम्झौता

काठमाडौं विश्वविद्यालयसँग ललितपुर महानगरको सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं–ललितपुर महानगर र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य सम्झौता भएको छ । समझदारीपत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापाले हस्ताक्षर गरे । 


ललितपुरमा बस्ने विद्यार्थीलाई जिल्लामा रहेका काठमाडौं विश्वविद्यालयका कलेजमा सञ्चालित प्रत्येक शैक्षिक कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा एक सिट छात्रवृत्ति व्यवस्था गर्ने समझदारीपत्रमा उल्लेख छ । 


ललितपुर महानगर र काठमाडौं विश्वविद्यालयको संयुक्त प्रयासमा शैक्षिक गुणस्तर सुधारका लागि अक्षय कोष खडा गरिनेछ । काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्का कार्यक्रमबाट मौलिकता झल्कने कला–संस्कृति, सम्पदा जगेर्नाका निम्ति भूमिका निर्वाह गर्ने उल्लेख छ । 

 


ललितपुर महानगरमा रहेका सामुदायिक विद्यालयको वृत्ति विकास र शैक्षिक क्षमता विस्तारका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी योजना बनाइनेछ ।

 

 ललितपुर महानगर प्रमुख महर्जनले अनौपचारिक रूपमा काठमाडौं विश्वविद्यालयसँग महानगरले धेरै काम गरेको बताउँदै यो समझदारीले थप अघि बढ्न मार्ग प्रशस्त गरेको बताए । उनले ललितपुर महानगरको शैक्षिक क्षेत्रको उन्नयनका लागि यो सहकार्य महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘काठमाडौं विश्वविद्यालयको एक्सिपर्टिजलाई महानगरको परिचय र गरिमा कला, संस्कृतिको खोज अनुसन्धानमा लगानी गर्न सकिन्छ,’ उनले भने । 

 


समझदारीपत्रमा महानगरभित्रका विविध विषयमा दुई संस्थाले सहकार्य गर्ने उल्लेख छ । विश्वविद्यालयका उपकुलपति प्राडा. थापाले स्थानीय तहमा विशेष पहिचान बनाएको ललितपुर महानगरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । स्थानीय तह र काठमाडौं विश्वविद्यालय एकअर्काका पूरक भएको बताउँदै शिक्षा स्थानीय तहको मातहतमा आएकाले स्थानीय तहले विश्वविद्यालयसँग सहकार्य गरेर धेरै काम गर्न सक्ने उनको भनाइ छ ।

 

अन्तर्राष्ट्रिय रूपमा इन्स्टिच्युट अफ क्राफ्ट एन्ड डिजाइनको अवधारणा अघि बढिसकेको बताउँदै कला, संस्कृतिको जगेर्नाका लागि यस्ता इन्स्टिच्युटको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले काठमाडौं विश्वविद्यालयले शिक्षालाई जीवनसँग जोडेको धारणा व्यक्त गरे ।

 

समाजको गतिशीलताअनुसारका जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको योगदान महत्त्वपूर्ण रहेको उनले बताए । उनले भने, ‘दुई संस्थाबीच व्यवस्थित र प्रणालीबद्ध रूपमा काम गर्न यो कार्यक्रम आयोजना गरेका हौँ ।’ कार्यक्रममा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राडा. सुबोध शर्मा, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन डीन प्राडा. बालचन्द्र लुइँटेल, काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट डीन प्राडा. देवीप्रसाद बिडारी, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्का कामु डीन एक्कुमाया पुन सहभागी थिए ।

 


समझदारी पत्रमा उल्लेख भएका कार्यक्रम कार्यान्वयनका लागि महानगरबाट शिक्षा सल्लाहकार लोकबहादुर खड्का र काठमाडांै विश्वविद्यालयका एसोसिएट डीन सुजन चित्रकार समन्वयकर्ताको भूमिकामा रहने समझदारीपत्रमा उल्लेख छ ।