close

शिक्षामन्त्री पौडेलले मागे बजेट थप्नुपर्ने योजनाको नाम

शिक्षामन्त्री पौडेलले मागे बजेट थप्नुपर्ने योजनाको नाम

Trulli
ADVERTISEMENT

बागलुङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालय प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । ‘अर्थ मन्त्रालयले फागुन अन्तिम साता बजेट रकमान्तर गर्दै छ’, मन्त्री पौडेले भने, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस् । मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’


तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभर जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरूलाई उनले निर्देशन दिए । ‘स्थानीय तहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणमा विलम्ब हुन सक्छ’,मन्त्री पौडेलले भने, ‘अल्झेका काम फुकाउँदै फागुन अन्तिम सातासम्म धेरै योजनाको काम सक्नुस् ।’

 


गलकोट–मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै त्यसको अनुगमन गरी काम अघि बढाउन उनले निर्देशन दिए । जिल्लामा झोलुंगे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई मन्त्री पौडेलले आग्रह गरे ।

 


आलु, मकै तथा अन्य कृषिसम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन उनको आग्रह छ । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेकाले रणनीतिक योजना, विद्यालय, मोटर बाटोलगायत पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्नुपर्ने हो, लिपिबद्ध गरी टिपाउन मन्त्रीले निर्देशन दिए ।

 

बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने तयारी रहेको भन्दै उनले आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको बताए ।  ‘बुर्तिवाङ अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्यमन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन भनेको छु’, मन्त्री पौडेलले भने, ‘त्यसका लागि स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरिदिनुप¥यो ।’


बुर्तिवाङमा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँग जोडेर थप व्यवस्थित गर्ने काम भइरहेको उनले बताए । अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिवाङ तत्काल जाने योजना रहेको उनले सुनाए । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जिल्लामा शान्ति–सुरक्षा सामान्य रहेको जानकारी दिए । लागूऔषध कारोबार पश्चिमतिर भइरहेको बताउँदै त्यसको नियमन गर्ने काम भइरहेको उनले बताए ।

 

सीसीएमसीसीको निर्णयअनुसार माघ मसान्तसम्म विद्यालय वैकल्पिक माध्यमबाट चलाउन निर्देशन दिइएको उनको भनाइ छ । कोभिडका कारण एक जना मात्र स्वास्थ्य अस्पतालमा भर्ना भई स्वास्थ्योपचार गरिरहेकाले जिल्लामा कोभिड संक्रमण कम हुँदै गएको उनले बताए । मध्य पहाडी लोकमार्ग निर्माणको विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरेर ० देखि ५.५ किलोमिटर कालोपत्रेका लागि काम भइरहेको जानकारी उनले दिए । जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरूले सञ्चालित योजनाको प्रगति विवरण र समस्याबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।