close

शिक्षक राजनीतिमा लागेपछि सार्वजनिक शिक्षा सुधारमा बाधा : शिक्षामन्त्री पौडेल

शिक्षक राजनीतिमा लागेपछि सार्वजनिक शिक्षा सुधारमा बाधा : शिक्षामन्त्री पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुपर्ने बताएका छन् । आयोगको २३औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

 

शिक्षकको अधिकार राज्यले पूरा गर्दै गएको बताउँदै मन्त्री पौडेलले कर्तव्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे । ‘शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज छ’, उनले भने, ‘शिक्षक सम्मानित पेसा हो । यसलाई दिगो बनाइराख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनप¥यो ।’

 

उनले शिक्षक सेवा आयोग, शिक्षकमहासंघ र मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशीजस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उत्तिकै भूमिका रहनेमा जोड दिए । आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवा प्रक्रिया अगाडि बढाएको भन्दै अध्यापन अनुमतिपत्रको विज्ञापन पनि चाँडै खोल्न उनले निर्देशन दिए । 

 


आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन प्रक्रिया अगाडि बढाउन विलम्ब गर्न नहुने भन्दै कानुनी अप्ठेरा भए छलफल गरी निकास निकालिने उनले बताए । एक्सनपछि रियाक्स नहुने भन्दै शिक्षकको उमेर हदको विषयलाई वार्तामार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 


राज्यमन्त्री बोधकुमारी माया यादवले तीनै तहको विज्ञापन र आन्तरिक बढुवाको प्रक्रिया अघि बढेकामा खुसी व्यक्त गरिन् । विगतका कमी–कमजोरी सच्याउँदै जानुपर्ने बताउँदै उनले आयोगलाई थप उत्कृष्ट बनाउन कर्मचारीसँग सहकार्य गरी अघि बढ्ने बताइन् । 

 


शिक्षा सचिव यादवप्रसाद कोइरालाले शिक्षक आफ्नो जिम्मेवारीप्रति वफादार हुनुपर्ने आवश्यकता औँल्याए । आयोगको परीक्षामाथि विभिन्न प्रश्न उठ्न सक्ने भन्दै लोकसेवा आयोगले जस्तै परीक्षा पारदर्शी हुने उनको विश्वास छ । उनले लिडरको भिजनले नयाँ काम गर्न सकिने बताउँदै चुनौतीसँग जुध्दै सबल पक्षलाई ग्रहण गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । 

 


आयोगका अध्यक्ष मधुसूदन रेग्मीले आयोगले सञ्चालन गर्ने परीक्षा स्वतन्त्र र मर्यादित हुने दाबी गर्दै २ लाख ३५ हजार ५ सय बढीले शिक्षक दरबन्दीका लागि दरखास्त दिएको जानकारी दिए ।