close

वीरगञ्ज महानगरका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ

वीरगञ्ज महानगरका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ

Trulli
ADVERTISEMENT

पर्सा– वीरगञ्ज महानगरपालिकामा बिहीबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालनमा आएका छन् । वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखाले बुधबारदेखि विद्यालय सञ्चालनमा आएको जानकारी दिएको छ ।

 

वीरगञ्जमा कोरोना संक्रमणको दर घट्दै गएकाले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगिएको नगरप्रमुख विजयकुमार सरावगीले बताए । यसअघि कोरोना संक्रमणको उच्च जोखिमलाई लक्षित गर्दै २८ पुसदेखि १२ वर्षमुनिका सबै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न महानगरले सूचना जारी गरेको थियो ।

 

बाँकी विद्यार्थीको हकमा ७ माघभित्र परीक्षा लिइसक्न निर्देशन गरिएको थियो । परीक्षा लिइसकेका विद्यालय बन्द भएका थिए । सरकारले १५ माघसम्म विद्यालय बन्द आह्वान गरेको थियो । वीरगञ्जका निजी विद्यालयले पठनपाठन सुरु गरे पनि सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेको थिएन ।


मंगलबार नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षता तथा सामुदायिक माध्यमिक विद्यालय र आधारभूत विद्यालयका प्रधानाध्यापक एवं प्याब्सन, एनप्याब्सनका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । वीरगञ्जका विद्यालय भौतिक उपस्थितिमा नियमित पठनपाठनको क्रियाकलापलाई सञ्चालन गर्ने÷गराउने निर्णय भएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।


विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्ने, तापक्रम लिने आदि कार्य अनिवार्य पालना गर्नुपर्ने उनको भनाइ छ । ‘विद्यार्थीलाई दुवै मात्रा खोप लगाइसकेका विद्यालयलाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न भनेका छौँ,’ उनले भने, ‘खोप लगाउने क्रम जारी रहेकोले बाँकी विद्यालय १ फागुनबाट सञ्चालनमा आउँछन् ।’

 

महानगरमा विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको मोर्डना खोप आउन ढिलाइ हुँदा केही दिन विद्यालय प्रभावित बने । खोप आइसकेपछि महानगरअन्तर्गतका विद्यालयमा २० माघदेखि नै विद्यार्थीलाई खोप लगाउने अभियान चलिरहेको छ । वडा नम्बर १ देखि १६ सम्म २० माघ, २१ र २२ माघमा एक चरण १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले खोप लगाइसकेका छन् भने वडा नम्बर १७ देखि ३२ सम्म २४ माघदेखि खोप लगाउने कार्यक्रम सञ्चालनमा छ ।

 


२२ माघसम्म वीरगञ्जमा ११ हजार ७१७ जना विद्यार्थीले दुई मात्रा खोप लगाइसकेका छन् भने ३ हजार ४७९ जनाले पहिलो मात्रा खोप लिएको स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रितेश जयसवालले बताए । महानगरमा विद्यार्थीका लागि ४० हजार मोर्डना खोप आएको थियो । मंगलबार बसेको बैठकले १४ फागुनबाट तेस्रो मेयर कप सुरु गर्ने र पालिका स्तरमा हुने कक्षा ८ को परीक्षा २४ चैतबाट सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि ८ माघदेखि सुरु गर्न लागिएको मेयर कप कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्थगित गरिएको थियो ।