close

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार भएको बैठकले सो छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६, दुईकोठे भवन ९६६, आइसिटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।

 

मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई रु ७० करोड ५९ लाख छ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि रु ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई रु ८८ करोड रकम छुट्याइएको छ ।

 

राष्ट्रपति शैक्षिक सुधारका लागि  रु सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी रु एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए ।

 

देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा सात हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आइसिटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।

 

देशभरमध्ये प्रदेश  १ मा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणअनुसार प्रदेश १ मा १९८ विद्यालयमा चारकोठे भवन, १७९ विद्यालयमा दुईकोठे भवन, ३४९ विद्यालयमा आइसिटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा सात विद्यालय छनोट भएका छन् । यस्तै लुम्बिनी प्रदेशमा १९५ विद्यालयमा चारकोठे भवन, १३७ विद्यालयलमा दुईकोठे भवन, आइसिटी ल्याब व्यवस्थापनमा २८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना तीन विद्यालय छनोट भएका हुन् ।

 

यस्तै मधेस प्रदेशमा १८० विद्यालयमा चारकोठे भवन, १९७ विद्यालयमा दुईकोठे भवन, २३५ विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन, पाँच विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा चारवटा विद्यालय छनोट भएका छन् । सुदूरपश्चिम प्रदेशमा १४१ विद्यालयमा चारकोठे भवन, १७९ विद्यालयमा दुईकोठे भवन, २७० विद्यालयमा आइसिटी व्यवस्थापन, आठ विद्यालयमा प्राविधिक ल्याब र  विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।

 

भूकम्पबाट प्रभावित बागमती प्रदेशका १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिए । चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भूकम्पबाट नबनेका विद्यालयमा चारकोठे भवन २२, दुईकोठे भवन १२, आइसिटी ल्याब ४९१,  प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापना चार छनोट भएका छन् ।


 
यस्तै गण्डकीमा १३० विद्यालय चारकोठे, १२५ दुईकोठे, २५५ आइसिटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् । कर्णालीमा ११० विद्यालयमा चारकोठे भवन,  १३८ मा दुईकोठे भवन, २२५ विद्यालयमा आइसिटी ल्याब, प्राविधिक ल्याब दुई  र नयाँ प्राविधिक विद्यालय स्थापना दुई छनोट भएका छन् ।