close

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छनोट भए ४ हजार १५७ विद्यालय

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छनोट भए ४ हजार १५७ विद्यालय

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका ४ हजार १५७ सार्वजनिक विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका ४ हजार १५७ विद्यालय छनोट गरेको हो । ४ कोठे भवन ९ सय ७६, २ कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन २ हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ । 

 


शिक्षामन्त्री पौडेलका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, २ कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार विनियोजन गरिएको छ ।

 

यस्तै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका निम्ति ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरोन्नतिका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रुपैयाँ रकम छुट्याइएको छ ।

 

राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छुट्याइएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए । ‘देशभरका विद्यालयको भौतिक संरचना, आइसीटी व्यवस्थापन गर्ने अभियानमा छौँ,’ मन्त्री पौडेलले भने, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरूलाई सम्बोधन गर्छौं ।’


देशका ७३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । यीमध्ये ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आइसीटी ल्याब, १ सय १७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेल मैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए । 

 

कुन प्रदेशलाई कति

देशभरमध्ये प्रदेश १ मा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरणअनुसार प्रदेश १ मा १ हजार १९८ विद्यालयमा ४ कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, ३ सय ४९ विद्यालयमा आइसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ७ विद्यालय छनोट भएका छन् । 


यस्तै, लुम्बिनी प्रदेशमा १ सय ९५ विद्यालयमा ४ कोठे भवन, १ सय ३७ विद्यालयलमा दुई कोठे भवन, आइसीटी ल्याब व्यवस्थापनमा २ सय ८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना ३ विद्यालय छनोट भएका हुन् । 

 


यस्तै, मधेस प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १ सय ९७ विद्यालयमा २ कोठे भवन, २ सय ३५ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ५ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ४ वटा विद्यालय छनोट भएका छन् ।

 

सुदूरपश्चिम प्रदेशमा १ सय ४१ विद्यालयमा ४ कोठे भवन, १ सय ७९ विद्यालयमा दुई कोठे भवन, २ सय ७० विद्यालयमा आइसीटी व्यवस्थापन, ८ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् । 

 


भूकम्पबाट प्रभावित बागमती प्रदेशका १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिए । 

 


चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भूम्पबाट नबनेका विद्यालयमा ४ कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आइसीटी ल्याब ४ सय ९१, प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापनामा ४ छनोट भएका छन् । 

 

यस्तै, गण्डकीमा १ सय ३० विद्यालय ४ कोठे, १ सय २५ दुई कोठे, २ सय ५५ आइसीटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् । कर्णालीमा १ सय १० विद्यालयमा ४ कोठे भवन, १ सय ३८ मा दुई कोठे भवन, २ सय २५ विद्यालयमा आइसीटी ल्याब, प्राविधिक ल्याब २ र नयाँ प्राविधिक विद्यालय स्थापना २ छनोट भएका छन् ।