close

शिक्षक महासंघका माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार

शिक्षक महासंघका माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार

Trulli
ADVERTISEMENT

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघ प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

 


सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्री पौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकको माग कार्यान्वयन गर्ने सहमति भएको बताए । ‘शिक्षक पहिल्यैदेखि आन्दोलनरत हुनुहुन्थ्यो’, मन्त्री पौडेलले भने, ‘म पदमा बहाली भएपछि पनि शिक्षकका मागका विषयमा छलफल गरी कार्यान्वयन गर्ने विषयमा सहमति भयो ।’


सार्वजनिक शिक्षा सुधार्न मन्त्रालय र महासंघले संकल्प गर्नुपर्ने बताउँदै उनले आफ्नो अधिकारसँगै दायित्व पनि भुल्न नहुनेमा जोड दिए । मन्त्री पौडेलले भने, ‘महासंघले उठाएका धेरै विषय सम्बोधन भइसकेका छन् । ५१ बुँदे प्रतिवेदनबाट बाँकी रहेका काम कानुनसम्मत ढंगले लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’


२८ कात्तिकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल र महासंघ सह–अध्यक्ष पूर्णप्रसाद दवाडी सम्मिलित कार्यदलले अध्ययन गरी १ फागुनमा सुझाव पेस गरेको थियो ।

 

सोहीअनुसार मन्त्रालय र महासंघबीच ५१ बुँदे माग कार्यान्वयन गर्ने विषयमा सहमति भएको हो । महासंघले कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिल व्यवस्था गर्नुपर्र्नेे, शिक्षा विकास तथा समन्वय इकाइको नाम परिर्वतन गरी जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्था गर्ने, एक पटक आन्तरिक परीक्षामा सामेल हुन नपाएका अस्थायी र करार शिक्षकलाई नियमानुसार शिक्षक सेवा आयोगमार्फत उमेरको हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिनेलगायत माग राखेको छ । 

 


यस्तै, द्वन्द्वपीडित, पेसागत आन्दोलनमा नेतृत्व गरेका शिक्षक तथा कर्मचारी व्यवस्थापनका सम्बन्धमा छानबिन समिति वा आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने, महिला शिक्षकको प्रसूति बिदा ६ महिना कायम गरी उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गर्नेलगायत विषय कार्यान्वयन गर्ने प्रतिवेदनमा समेटिएको महासंघ अध्यक्ष कमलादेवी तुलाधरले जानकारी दिइन् ।