close

शिक्षालाई सबैको पहुँचमा पुर्‍याउँदै कानेपोखरी

शिक्षालाई सबैको पहुँचमा पुर्‍याउँदै कानेपोखरी

Trulli
ADVERTISEMENT

मोरङ–संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था छ । तीनै तहका सरकारले नागरिकलाई शिक्षाको पहुँचमा पुर्‍याउन विभिन्न गतिविधि सञ्चालन गरिरहेका छन् । गुणस्तरीय शिक्षा दिएर स्वरोजगार बनाउने प्रयास हुँदै आएका छन् । शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने योजना कार्यान्वयन गरिरहेको मोरङको कानेपोखरी गाउँपालिकाले शिक्षा क्षेत्रमा फड्को मारेको छ । 

 

नेपालमा शतप्रतिशत साक्षरताको मुद्दा अहिले गहन रूपमा उठेको छ । सरकारले  दिगो विकासको लक्ष्य पूरा गर्ने अठोट लिइरहँदा शिक्षामा सबैको पहुँच पुर्‍याउन अपरिहार्य छ । १५ वर्षे राष्ट्रिय योजनामा पनि शिक्षा र आर्थिक विकासलाई एकआपसमा जोड्ने नीति अगाडि सारिएपछि स्थानीय तहबाट अहिले शिक्षा क्षेत्रमा पहुँच वृद्धि गर्ने योजना निर्माण हुन थालेका छन् । 

 

२०६८ को तथ्यांकअनुसार मोरङको कानेपोखरी गाउँपालिकामा ११ वटा प्राथमिक विद्यालय थिए । निम्न माध्यमिक विद्यालय ५ र माध्यमिक विद्यालय ६ वटा मात्रै थिए । क्याम्पस एउटै मात्र हुँदा उच्च शिक्षामा सबैको पहुँच थिएन । कुल २३ वटा शैक्षिक संस्थाबाट नागरिकले शिक्षा लिँदै आएका थिए । तर, कक्षा १ देखि प्रारम्भ भएको पढाइ कक्षा १२ सम्म पुग्दा विद्यार्थीको संख्या घट्दो क्रममा थियो । 

 

यही समस्या अन्त्यका लागि साढे चार वर्षअघि निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिले शिक्षा प्रणालीलाई व्यवस्थित गर्न गाउँ शिक्षा योजना निर्माण गरे । शिक्षा क्षेत्रमा लगानी बढाए । कक्षा ८ सम्म अध्ययन नगराउने अभिभावकलाई गाउँपालिकाबाट दिने सुविधामा कटौती गर्ने निर्णयले बीचमै पढाई छाड्ने दर घट्दै गयो ।

 

अहिले गाउँपालिकाको संयोजनमा दलित, विपन्न वर्गका बालबालिकाले निःशुल्क अध्ययन गर्ने अवसर पाएका छन् । गाउँपालिकाले शिक्षामा गुणस्तर अभिवृद्धिसँगै सुविधासम्पन्न विद्यालय भवन निर्माणमा पनि जोड दियो । नयाँ भवनमा कक्षाकोठा, शौचालय निर्माण गरेर सुविधासम्पन्न बनाएसँगै अहिले विद्यार्थी आकर्षित भइरहेका छन् । पालिकाले शिक्षक कम भएका विद्यालयमा दरबन्दी मिलान गरेर अभावको समस्या अन्त्य गरिदिएको कानेपोखरीका अध्यक्ष ताराबहादुर काप्mलेले बताए छ । 

 

पुरुषको तुलनामा महिला साक्षरतामा कमी आएकाले गाउँपालिकाले विद्यालय छाड्ने अवस्था सिर्जना हुन नदिन छात्रासँग उपाध्यक्ष कार्यक्रम ल्यायो । घर–परिवार, साथीभाइ र शिक्षकसँग खुलेर बोल्न नसक्ने छात्राले उपाध्यक्षलाई आफ्नो समस्या राख्न सक्ने लक्ष्यसहित सुरु गरिएको यो कार्यक्रम निकै प्रभावकारी बन्न पुग्यो । विद्यालय छाड्नुपर्ने अवस्था अन्त्य गर्न सफल यो कार्यक्रमबाट गाउँपालिकाले मनोसामाजिक परामर्श दिँदा अहिले तुलनात्मक रूपमा छात्राको गयल हुने क्रम रोकिएको छ । छात्रालाई आवश्यक पर्ने स्वास्थ्य चेतना दिन विद्यालयमा नर्स कार्यक्रम पनि सञ्चालन गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख रमेश काफ्लेले जानकारी दिए ।

 

यीबाहेक विद्यार्थी जीवनदेखि नै सरकारी जागिरप्रतिको आकर्षण वृद्धि गर्ने र रोजगारी दिलाउन गाउँपालिकाले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्दै आएको छ । एक सयभन्दा बढी विद्यार्थीले अहिले लोकसेवा कक्षा लिँदा भविष्यमा राज्यका विभिन्न निकायका उच्च पदमा पुग्ने अपेक्षा लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ र वडा नम्बर ५ का विद्यार्थी घनश्याम विश्वकर्माको भनाइ छ । 

 

दिगो विकासको लक्ष्यको बुँदा नम्बर ४ मा सबैका लागि समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उल्लेख छ । पालिकाले शिक्षामा गरेको लगानीले यो लक्ष्य हासिल हुनेमा दुईमत छैन । जनप्रतिनिधिले गुणस्तरीय शिक्षामा सुरु गरेको विभिन्न कार्यक्रम र योजनालाई लागू गर्दै अघि बढ्दा जनसेवा माध्यमिक विद्यालय गाउँकै नमुना विद्यालय बन्न पुगेको छ । पालिकाले प्राविधिक र कृषि विषयलाई प्राथमिकता दिँदा जीवनपर्यन्त सिकाइका अवसर प्राप्त गर्न मद्दत पुग्ने देखिन्छ । सरकारको  १५ वर्षे योजनाअन्तर्गत दीर्घकालीन राष्ट्रिय रणनीतिमा उल्लेख गरिएको सुलभ तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्यमा कानेपोखरी सफल हुँदै गएको छ ।