close

४ करोडमा निर्मित १५ कोठे विद्यालय भवन हस्तान्तरण

४ करोडमा निर्मित १५ कोठे विद्यालय भवन हस्तान्तरण

ADVERTISEMENT

काठमाडौं । एसपीएफ फ्रान्स तथा सहरी वातावरण व्यवस्थापन समाज(यूम्स्)को आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न श्री सिद्धिमंगल माध्यमिक विद्यालय, सिद्धिपुर ललितपुरको १५ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच सहयोगी संस्था एसपीएफ फ्रान्स प्रतिनिधि ओभिअर ग्रिनन र यूम्स‍्का कार्यकारी निर्देशक डा. मखन महर्जनले विद्यालयका प्रधानाध्यपक मीनबहादुर अछामीलाई हस्तान्तरण गरेका हुन् । 

ललितपुरको महालक्ष्मी नगरपालिका-६ सिद्धिपुरमा निर्माण सम्पन्न ४ तले उक्त भवन दुई चरणमा निर्माण सम्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यपक अछामीका अनुसार पहिलो चरणमा २०७४-२०७६ सालसम्म दुईतले र २०७८ देखि हालसम्म बाँकी दुई तले भवन निर्माण सम्पन्न भएको हो । 

पहिलो चरणमा दुई र दोस्रो चरणमा दुई गरी कुल चार करोडको लागतमा निर्माण सम्पन्न भएपछि विद्यालयलाई हस्तान्तरण गरिएको निर्माण तथा सहयोगी संस्थाले जनाएको छ । उक्त लागतभित्र साइन्स ल्याब, पुस्तकालय, सभाहल र १५ मध्ये ६ वटा कक्षा कोठाको फर्निचर पनि निर्माण गरिएको छ । 

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै शिक्षा मन्त्री पौडेलले विद्यालयको शैक्षिक तथा गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, समाज र अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । विद्यालयको भौतिक सुधार भएसँगै शैक्षिक गुणस्तरको शुभकामना दिँदै उनले भने,'अभिभावकले शिक्षकलाई शिक्षकले व्यवस्थापनलाई दोषारोपण गरेर शिक्षाको गुणस्तर सुधार गर्न सकिँदैन, जो जहाँ छौं त्यहीबाट शिक्षाको सुधार गर्न सबै लाग्नुस् । देशकै उत्कृष्ट विद्यालय बनोस् ।' 

साथै सबैलाई प्रोत्साहन गरेर शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा उनले जोड दिए । साथै कार्यक्रममा विद्यालयले प्रकाशन गरेको सिद्धिमङ्गल दर्पण पनि लोकार्पण गरिएको छ । कक्षा कोठाको अभावमा सेक्सन विभाजन गर्न नसकेको विद्यालयले अब सेक्सन विभाजन गर्ने जनाएको छ ।