close

विषयगत शिक्षक नभएपछि ६ आधारभूत विद्यालय महादेव माविमा गाभिए

विषयगत शिक्षक नभएपछि ६ आधारभूत विद्यालय महादेव माविमा गाभिए

Trulli
ADVERTISEMENT

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा रहेको शैक्षिक गुणस्तरका लागि नवनिर्वाचित जनप्रतिनिधिले ६ वटा आधारभूत विद्यालयलाई एउटा माध्यमिक विद्यालयमा समायोजन गरेको छ । 

हिमाली जिल्लामा विषयगत शिक्षक नपाइने पुरानै रोग भएको र पालिकाले करारमा शिक्षक दिन नसक्दा पठनपाठनमा समस्या हुने र बालबालिकाको शैक्षिक गुणस्तर खस्कँदै जान थालेपछि ६ वटा आधारभूत विद्यालयलाई माविमा समायोजन गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले पालिका खबरलाई बताए । 

गाउँपालिका अध्यक्ष शाहीका अनुसार समायोजन गरेपछि एकै ठाउँमा विषयगत शिक्षकहरू भेला भएका छन् । यसले शैक्षिक गुणस्तर बढ्दै जानेमा गाउँपालिका विश्वस्त छ भने ४ जनालाई गाउँपालिकाको आन्तरिक स्रोतबाट करारमा नियुक्तिसमेत गरिएको छ । 

गाउँपालिका अध्यक्ष शाहीका अनुसार चंखेली आधारभूत विद्यालय, बालज्योति आधारभूत विद्यालय,नवज्योति आधारभूत विद्यालय, महाकवि लक्ष्मी आधारभूत विद्यालय, राम शाह आधारभूत विद्यालय र रारा आधारभूत विद्यालयलाई महादेव माविमा समायोजन गरिएको हो । यसअघि चंखेलीमा ६२ जना, बालल्योतिमा ७५ जना, नवज्योतिमा ७० जना, महाकवि लक्ष्मीमा ९२ जना, रामशाहमा ६ र रारामा ६ जना विद्यार्थी थिए ।

गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीका अनुसार विद्यालय समायोजन गरिए पनि ती ६ वटा आधारभूत विद्यालयलाई बन्द गरिएको भने होइन । कक्षा-५ सम्मका दरबन्दी र विद्यार्थी यथावत छ भने कक्षा ६ देखि ८ सम्मका विद्यार्थी र शिक्षकमात्र समायोजन गरिएको हो । उनले दुखेसो पोखिन् 'पुरानो संरचनाकै कुरा गर्ने हो भने निमाविका शिक्षक र विद्यार्थी समायोजन गरिएको हो तर के गर्नु ? ती सबै विद्यालयमा विषयगत शिक्षक भए पो, विद्यार्थीमात्र समायोजन गरिएजस्तो भएको छ ।' उनका अनुसार विषयगत शिक्षकको अभावमा त्यस्तो गर्न गाउँपालिका बाध्य भएको हो । ६ वटा विद्यालयबाट जम्मा ४ जना शिक्षकमात्र महादेव माविमा समायोजनमार्फत आएका छन् ।  

गाउँपालिकाको ती विद्यालयहरूमा कक्षा ६ देखि ८ सम्म दरबन्दी नै नभए पनि पढाउन बाध्य थिए । गाउँपालिकाले आन्तरिक स्रोतबाट शिक्षक नियुक्ति गर्न नसक्ने र सरकारले दरबन्दी नदिने समस्या भएकोले समायोजन गरिएको उपाध्यक्ष शाहीको भनाइ छ । 

विद्यालय समायोजन गरिएपछि विद्यार्थीहरू कक्षा ६ मा पढ्नकै लागि २ घण्टा हिँड्नुपर्ने बाध्यता छ । एकातिर विद्यालय टाढा छ भने अर्कोतिर जंगलको बाटो भएकोले विद्यालय पुग्न चुनौतीपूर्ण रहेको अभिभाव बताउँछन् । यस विषयमा गाउँपालिकासँग कुरा राख्दा गुणस्तर खस्किँदै जानुभन्दा टाढा हिँडेरै भए पनि राम्रो पढ्दा बालबालिका भविष्य राम्रो हुने भनेरै गाभिएको गाउँपालिका उपाध्यक्ष शाही बताउँछिन् । उनका अनुसार महादेव माविमा होस्टेलको व्यवस्था छ भने टाढाका विद्यार्थीहरूका लागि भनेर थप व्यवस्थित तथा होस्टेल क्षमता बढाउने काम भइरहेको छ ।