close

रेणुदेवीको एसईई पास गर्ने धोको ६२ वर्षमा पूरा

रेणुदेवीको एसईई पास गर्ने धोको ६२ वर्षमा पूरा

Trulli
ADVERTISEMENT

म्याग्दी । पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गरेका छन् । विसं २०७८ को एसइईउत्तीर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौढहरूले इच्छाशक्ति भएमा शिक्षा हासिल गर्न उमेर बाधक नहुने सन्देश दिनुभएको हो ।

६२ वर्षीया रेणुदवी मल्लले १.८६, ५१ वर्षीया योगमाया गौतमले १.५५ र ४३ वर्षीया दिलशोभा पुनले २.१० जिपिए ल्याएर यसपालिको एसइई उत्तीर्ण भएका विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

जलजला गाउँपालिका–३ वारीबेनीका मल्लले कक्षा ५ पढ्दा आमाको निधन भएपछि विद्यालय छाडेकी थिइन्। “आमाको निधन भएपछि भाइबहिनी साना भएकाले पढ्न पाएको थिइनँ”, उनले भनिन्, “सामाजिक सङ्घसंस्थामा काम गर्दा पढाइको आवश्यकता महसुस गरेर उज्यालो विद्यालयमा पढेर एसइईमा सहभागी भएको थिए । सफल भएँ खुसी लागेको छ ।”

वारीबेनीको आमा समूह र विभिन्न उपभोक्ता समितिमा रहेर काम गरेकी मल्लले साथी भएमा माथिल्लो कक्षाको अध्ययनलाई निरन्तरता दिने बताए । उज्यालो वैकल्पिक विद्यालयबाट दोस्रो समूहमा पाँच जनाले फारम भरेकामा तीन जना सहभागी भएका थिए ।

विभिन्न कारणले बीचैमा पढाइ छाडेका औपचारिक शिक्षाबाट बञ्चित प्रौढहरूलाई १० कक्षासम्मको शिक्षाको अवसर दिलाउन विसं २०७३ देखि वैकल्पिक विद्यालय सञ्चालन भएको थियो । गत वर्ष सो विद्यालयबाट नौ जना प्रौढ महिलाले एसइई उत्तीर्ण भएका थिए ।