close

राप्तीसोनारी गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू

राप्तीसोनारी गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू

Trulli
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ । 

पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।

पालिकाभित्रका कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले आफूहरु निर्वाचित हुनुअघि नै उक्त पाठ्यक्रम तयार भएकाले त्यसलाई लागू गरिएको बताए । 

‘हाम्रो राप्तीसोनारी’ पाठ्यक्रममा हाम्रा संस्कृति र सम्पदा, हाम्रो पेशा व्यवसाय र प्रविधि, हाम्रो वातावरण, हाम्रो राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापनसहित गाउँपालिकाको विशेषतालाई उच्च प्राथमिकता दिइएको अध्यक्ष पौडेल बताउँछन् ।  

गत वैशाखमा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारी र शिक्षा केन्द्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव जितबहादुर शाहको प्राविधिक सहयोग तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेको संयोजकत्वमा ३० सदस्यीय समिति निर्माण भएको थियो । सो समितिले छ महिनाको अवधिमा पाठ्यक्रम तयार गरेको थियो ।   

खास गरेर सात विषय समेटेर निर्माण गरिएको पाठ्यक्रम राप्तीसोनारीका सबै आधारभूत विद्यालयमा लागू गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । “यो पाठ्यक्रम मात्रै हो तर हामी पाठ्यपुस्तकको पनि तयारी गरिरहेका छौँ”, उनले भने । कक्षा, ६, ७ र ८ को लागि पाठ्यपुस्तक बनाउने र आधारभूत तहका लागि स्रोत पुस्तकको रुपमा रहने बताइएको छ । 

पाठ्यक्रमले मूलभूत रूपमा गाउँपालिका क्षेत्रको सेरोफेरोलाई समेटने प्रयास गरिएको उनले बताए । अध्यक्ष पौडेलले संविधानको मर्मअनुसार निर्माण भएको पाठ्यक्रम पाठ्यपुस्तकका रूपमा विद्यालयमा अध्ययन, अध्यापन सुरु गरिएको उल्लेख गर्दै स्थानीय आवश्यकतालाई केन्द्रीत गरी आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान र सीप प्रदान गर्ने यसको लक्ष्य रहेको उल्लेख गरे । 

पाठ्यक्रमले यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ । स्थानीयस्तरका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले तयार गरिएको स्थानीय शैक्षिक सामग्री नै स्थानीय पाठ्यक्रम हो ।