close

जानकी-२ का ३२ आमा साक्षर बन्ने दौडमा

जानकी-२ का ३२ आमा साक्षर बन्ने दौडमा

Trulli
ADVERTISEMENT

कैलाली । जानकी गाउँपालिका साक्षर घोषणा भइसकेको छ । करिब १५ देखि ५९ वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा धेरै नागरिक साक्षर भएको तथ्याङ्कपछि पालिकालाई साक्षर घोषणा गरिएको हो । तर पालिकामा केहीले पढ्न, लेख्न नजान्ने भएकाले सबैलाई साक्षर बनाउन वडा नं २ मा अहिले साक्षरता कक्षा सञ्चालन भइरहेको छ ।

विगतमा पढ्न नपाएर साक्षर हुन नसकेकी वडा नं २ खैरेहनीका निर्मला जोशी अहिले निकै मेहेनतका साथ साक्षरता कक्षामा सहभागी छिन् ।  'पहिला पढेको छैन, अहिले नाम लेख्न जान्न सकिन्छ कि भनेर पढ्न थालेकी हुँ', निर्मलाले भनिन्, 'आफ्नो नाम लेख्ने, सामान्य अरुले लेखेको पढ्न सक्ने भए पुग्छ ।'

उनले पहिलेको जमाना छोरी पढाउने नभएकाले पढ्न नपाएको बताउँदै भन्छिन्, 'आजभोलि बैंक जानुपर्छ । समूहमा जानुपर्छ । पढ्न नजान्दा समस्या भएको छ त्यसैले पढ्न सिक्ने जाँगर पलाएको छ ।'

निर्मलाजस्तै अन्य महिलालाई पनि पढ्ने उमेरमा घाँस, दाउरा, गोठालो बनेर आमाबुवालाई सघाएर जीवन बितेकामा पछुतो लाग्छ । पढ्ने उमेरमा पढ्नुपर्छ भन्ने थाहा नपाएका, अभिभावकले विद्यालय देख्ने वातावरण नबनाइदिएका यी महिला अहिले पनि सकिन्छ भनी पढ्न थालेका हुन् । 

त्यस्तै ४७ वर्षीया निर्मला गाउँघरमा हुने बैठक, समूहमा जाँदा आफ्नो नाम आफैँ लेख्ने धोको चाँडै पूरा गर्ने आशामा छिन् । जानकीकै वासु जोशी पनि अहिले ४४ वर्षकी भइन् । उनलाई अहिले किताबसँग खेल्ने, रमाउने रहर छ । 

वासु नातिनातिना स्याहार गर्ने बेलामा साँझ बिहान घरको काममा सघाएर दिउँसो फुर्सदको समय निकालेर पढ्न आउछिन् । उनीहरूजस्तै साक्षरता कक्षामा अहिले ३२ महिलाले नियमित कक्षा लिइरहेका छन् । 

निरक्षरलाई साक्षर बनाउनका लागि एक गैरसरकारी संस्थाले गाउँपालिकामा नौ महिने साक्षरता कक्षा सञ्चालन गरेको हो । कक्षा सञ्चालनका लागि आवश्यक पुस्तकसमेत सबै उपलब्ध गराउने गरेको छ । गाउँघरमा निरक्षर रहेका महिलालाई साक्षर बनाई सहयोग गर्ने गरी अहिले कक्षा सञ्चालन भइरहेको शिक्षिका भागरथी बमले बताइन् ।