close

कक्षा ६ को पाठ्यक्रममा नारायणमान बिजुक्छे

कक्षा ६ को पाठ्यक्रममा नारायणमान बिजुक्छे

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमको रुपमा योगदानको आधारमा ३२ जना व्यक्तित्वबारे पढाउँदै आएको  छ । नगरपालिकाले बनाएको स्थानीय पाठ्यक्रममार्फत नेपाल मजदूर किसान पार्टीका अध्यक्ष  नारायणमान बिजुक्छेसहित ३२ जना व्यक्तित्वको बारेमा पढाउँदै आएको हो । 

पालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई सो विषयमा पढाउँदै आएको छ । पालिकाको अनुसार शैक्षिक सत्र २०७५ देखि नै कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको हो । 

पाठ्यक्रममा अध्यक्ष विजुक्छेसँगै हास्यव्यंग्यकार रामेश्वर नकर्मी, संस्कृतविद् तेजेश्वर बाबु ग्वंगः, प्रा. पृथुचरण वैद्य, विष्णुभक्त भुजुलगायत व्यक्तित्वहरूका बारेमा उल्लेख गरिएको छ । 

हरेक कक्षामा ४ जना विशिष्ट व्यक्तित्वहरूको बारेमा पढाउँदै आएको पालिकाले जनाएको छ । यसो गर्दा कक्षा १ देखि ८ सम्म ३२ जना व्यक्तित्वको बारेमा पढाइएको नगरशिक्षा शाखाले जनाएको छ । यसो गरेमा भक्तपुरमा योगदान दिने व्यक्तित्वलाई भावी पुस्ताले पनि चिन्ने विश्वास नगरपालिकाको छ । 

नगरपालिकाले सामाजिक, राजनीतिक र धार्मिकलगायत विभिन्न विधामा योगदान दिएको आधारमा सो व्यक्तित्वको जीवनी स्थानीय पाठ्यक्रममा लागू गरिएको नगर शिक्षा शाखाले जनाएको छ । राष्ट्रिय पाठ्यक्रममा समेट्न नसकेका कुराहरूलाई स्थानीय पाठ्यक्रममा सिकाइने विश्वास पालिकाको छ । 

स्थानीय पाठ्यक्रम कार्यदलका सदस्य तथा शारदा माध्यमिक विद्यालयका प्रधानाध्यपाक रोशनराज तुईतुईले  विद्यार्थीलाई भक्तपुरले इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, स्थानीय उपचार विधि र खेलबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको बताए । 

स्थानीयस्तरका विषयलाई विश्वव्यापीकरण गर्नका लागि, स्थानीय स्तरको मौलिक सम्पदाको परिचय दिनका लागि, जातिका बारेमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रम लागू गरिएको उनले सुनाए । 

त्यसैले भक्तपुरको स्थानीय पाठ्यक्रममा भक्तपुरमने ईतिहास, रहनसहन, संस्कृति, पेशालगायत विषय समावेश गरिएको उनले बताए । पालिकाले सो विषयमा समेटेर अध्यापन गराउँदा विद्यार्थीहरुमा पनि उत्सुकता बढेको अनुभव उनको छ । 

पालिकाले स्थानीय पाठ्यक्रम निर्माणसँगै पाठ्यपुस्तक समेत निर्माण गरी कायान्वयन गरिएको छ । पालिकाले ख्वप पहिचान भाग १ र ख्वप पहिचान भाग २ पाठ्यपुस्तक निर्माण गरी अध्यापन गराइरहेको छ । 

पाठ्यपुस्तकसहित अध्यापन गराउँदा शिक्षक तथा विद्यार्थी दुबैलाई सहज हुने विश्वास पालिकाको छ । पालिकाले नगरभित्रका रहेका सबै सामुदायिक र निजी विद्यालयमा सो पाठ्यपुस्तक लागू गरेको हो ।