close

जहाँ हुन्छ तिब्बती भाषामा पढाइ

जहाँ हुन्छ तिब्बती भाषामा पढाइ

Trulli
ADVERTISEMENT

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तिब्बती भाषा, संस्कृतिको अध्ययन-अध्यापन हुने गरेको छ । 

पालिकाको वडा नम्बर १, २, ४ र ५ का विभिन्न विद्यालयमा तिब्बती भाषा, लिपि, संस्कार, संस्कृतिको पठन-पाठन हुने गरेको हो ।

वडा नम्बर १ को गौरीशंकर आधारभूत विद्यालयका कक्षा १ देखि ६ सम्मका विद्यार्थीले तिब्बती भाषामा पठनपाठन गर्ने गरेका प्रधानाध्यापक योजबहादुर गुरुङले जानकारी दिए । 

उनीहरुलाई भाषा पढाउने दुईजना शिक्षकका लागि लामा गुरुहरुले तलब भत्ताको व्यवस्था गरेका छन् । खेम्पो लामा गुरुहरुले पाठ्यक्रम र पाठ्यपुस्तकको समेत व्यवस्था गरिदिएका छन् ।

त्यस्तै वडा नं. २ को ल्हो माध्यमिक विद्यालयमा पनि तिब्बती भाषा, संस्कृतिको पढाइ हुने गरेको छ । विद्यालय सञ्चालनमा आएसँगै यहाँ तिब्बती भाषा, संस्कार, संस्कृतिको पढाइ हुने गरेको प्रधानाध्यापक सञ्जय ढकालले जानकारी दिए । अध्यापनको लागि विद्यालय निर्माण गर्न सहयोग गर्ने सोनाम रिम्पोछेले दुईजना शिक्षकको व्यवस्था गरेको उनले बताए ।

स्थानीय पाठ्यक्रम विद्यार्थीका लागि धेरै महत्वपूर्ण रहेको उनले बताए । ‘स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक काठमाडौंमा पाइने रहेछ’, प्रअ ढकालले भने, ‘पाठ्यपुस्तकमा तिब्बती भाषा, संस्कार, संस्कृतिको बारेमा लेखिएको हुन्छ । स्थानीय भाषा, संस्कार, संस्कृतिको संरक्षणका लागि यसले धेरै टेवा पुर्‍याउँछ ।’

४ नम्बर वडाको नुब्री आधारभूत विद्यालयमा पनि कक्षा १ देखि सातसम्म तिब्बती भाषाको पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।

प्रधानाध्यापक गणेश ढकालका अनुसार यसअघि भोट भाषामा पढाउने शिक्षकलाई माउण्टेन चाइल्ड नामक संस्थाले तलब भत्ताको व्यवस्था गरेको थियो । सो संस्थाको नवीकरण नभएपछि विद्यालयको निजी स्रोतबाट तलबभत्ता दिनेगरी शिक्षक राखिएको उनले बताए ।

६ कक्षासम्म पढाइ हुने सेराङ्गी आधारभूत विद्यालयका ८८ जना विद्यार्थीले पनि तिब्बती भाषा पठनपाठन गरिरहेको प्रअ इन्दबहादुर गुरुङले बताए । यहाँ स्थानीय भोट भाषामा पढाउन सोलुखुम्बुबाट शिक्षक आएका छन् ।

चुमनुब्री गाउँपालिका भोटेलामा समुदायको बसोबास भएको गाउँपालिका हो । यहाँको वडा नं. १, २, ४, ५, ६ र ७ मा सतप्रतिशत भोटेलामा समुदायको बसोबास छ । वुद्ध धर्म अवलम्वन गर्ने उनीहरु तिब्बती भाषा, संस्कार र संस्कृतिका अनुयायी हुन् । 

यहाँका विद्यालयमा तिब्बती भाषा पठनपाठन गर्ने कार्यक्रमलाई प्रवद्र्धन गर्न गाउँपालिका कार्यालयले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।

चारवटा वडामा यसअघिदेखि नै पठनपाठन भइरहेको र अब वडा नं. ६ र ७ मा पनि पठनपाठन सुरु गर्ने गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन् ।