close

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

Trulli
ADVERTISEMENT

चौतारा । आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो ।

कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । 

विद्यार्थीको जवाफअनुसार मदिरा सेवन गर्ने गरेको पाइएपछि त्यसको रोकथामका लागि परामर्श दिएको उनको भनाइ छ । ‘यहाँको संस्कृति नै यस्तै रहेछ, बाबुआमाले नै मदिरा खुवाउने गरेको पाइयो’, उनले भने, ‘समस्या सुल्झाउनका लागि कक्षा–कक्षाका मदिरा सेवन गर्दा हुने बेफाइदाबारे चेतना प्रवाह गर्दै स्वास्थ्य शिक्षा प्रदान गरेपछि अहिले यो समस्या रोकिएको छ ।’

विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ ।’आठ–नौ कक्षा पढ्दै गर्दा यहाँका बालबालिका विवाहबन्धनमा बाँधिने गरेका थिए’, प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले भने, ‘विद्यालय नर्सले सानै उमेरमा विवाह र बच्चा पाएपछिको समस्याबारे परामर्श दिएपछि अहिले रोकिएको छ ।’ पछिल्लो वर्ष दिनमा यहाँका कुनै पनि बालबालिकाले विवाह नगरेको उनले बताए । 

विद्यालयमा नर्स कार्यक्रमपछि जङ्कफुड रोकिएको छ । व्यक्तिगत र विद्यालयमा भएको सरसफाइले फड्को मारेको छ । ५५० विद्यार्थी रहेका यो विद्यालयमा पहिला सामान्य पेट दुख्दासमेत विद्यार्थी घर जानुपर्ने अवस्था थियो । गत मङ्सिरबाट कार्यक्रम लागू भएपछि विद्यालयमै उपचार उपलब्ध भएपछि यो समस्या हल भएको छ । छात्रामा खुलेर भन्न सक्ने बानीको समेत विकास भएको प्रधानाध्यापक श्रेष्ठ बताए ।